सुसनलाई प्रधानमन्त्रीको सल्लाह : कुकुर भुक्दै गर्छ, हरेस नखानु

हाम्रो सन्देश संवाददाता

काठमाडौं, २९ मंसिर ।

नेकपाका हालै दिवंगत केन्द्रीय सदस्य कमानसिंह लामा र उनकी श्रीमतीको नाममा रहेको सिन्धुपाल्चोक,गुम्बा–५ स्थित याम्बालिङ्ग हाइड्रोपावरको सेयर स्वामित्व हस्तान्तरणलगायतका विषयमा असम्बन्धित व्यक्ति नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठलाई मुछिएपछि सुसन कर्माचार्य दम्पत्तिले आफ्नी छोरीसहित प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओलीसँग भेटेको छ ।

हिजो बालुवाटारमा प्रधानमन्त्रीसँग डेढ घण्टा भेटेपछि कर्माचार्यले नियोजित ढंगले आफ्नो चरित्र हत्यामा उत्रेका केही सञ्चारकर्मीबिरुद्ध साईबर क्राइमको उजुरी हाल्ने बताएकी छन् । यसनिम्ति प्रधानमन्त्रीले सहमति दिनुभएको र भण्डारामा सशस्त्रको बाहिनी उदघाट्नपछि चितवनबाट गृहमन्त्री फर्कनासाथ भोलि भेटेर बिध्युतीय कारोवार ऐनअन्तर्गत मुध्दा दर्ता गरिने सुसनको कथन छ । छोरी र श्रीमानलाई सँगै लिएर बालुवाटार छिरेकी उनले घटनाक्रमको बेलिबिस्तार लगाउँदा प्रधानमन्त्रीले अनावश्यक हल्लाको पछि लागेर करियर नबिगार्न पनि सल्लाह दिनुभएको बताइन्छ ।

आफूलाई अनावश्यक ढंगले प्रायोजित मान्छेहरू र बालुवाटार नजिकको भनिएका सञ्चारकर्मीले अफवाह फैलाएको,चरित्रमाथि नै धावा लाग्नेगरी योजनाबद्ध समाचार सम्प्रेषण गरेको भन्दै कर्माचार्यले गुनासो गरेकी थिइन् । पछि प्रधानमन्त्रीले ‘यस्तो हल्लाको पछि लाग्नु हुँदैन । यस्तो त भइरहन्छ, आत्तिनु हुँदैन’ भन्नुभएको थियो । पार्टीभित्रका एकथरी मान्छेले पारिवारिक,सामाजिक र राजनीतिक सम्बन्धमा आँच आउने गरी अफवाह फैलाएको भन्दै केहीको नाम लिँदा प्रधानमन्त्रीले एक, दुई जनालाई आफूले पनि चिनेको बताउनुभएको थियो ।

महिलाले कुनै व्यावसायिक काम गर्न नहुने हो ? घरमा भात पकाएरै मात्र बसुँ ?

प्रधानमन्त्रीसँग भेट भएको स्वीकार्दै सुसनले भनिन् ‘आफू महिला भएको नाताले राष्ट्रपतिसँग भेटेर अहिलेको परिस्थितिमा फैलाइएको हल्ला र अफवाहको बारेमा जानकारी गराउने र त्यसनिम्ति समय मिलाइदिन आग्रह राख्दा प्रधानमन्त्रीले पनि ‘हुन्छ’ भन्नुभएको छ ।’ एकजना सञ्चारकर्मीलाई प्रधानमन्त्रीले समेत राम्रोसँग चिनेको बताउँदै भन्नुभयो,‘जनता टाइम्सवाला गणेश बस्नेतलाई मैले चिनेको छु तर सूर्योदय चलाउने राजकुमार रेग्मीलाई चिन्दिनँ ।’ सोही प्रसंगमा उहाँले आफूलाई समेत धेरैले मनपरी लेख्ने र भन्ने गरेको उल्लेख गर्दै ‘कुकुरहरू भुकिरहन्छन्,भुक्न देऊ तर आफू लम्किने काम नरोक ।’भन्ने सल्लाह दिनुभयो ।

राजनीतिक प्रतिशोधको रिस महिलामाथि पोख्ने काम भएको सन्दर्भमा सुसनले प्रधानमन्त्रीसँग ‘के त्यसोभए महिलाले कुनै व्यावसायिक काम गर्न नहुने हो ? घरमा भात पकाएरै मात्र बसुँ ? पार्टी र नेतृत्वले त्यहि भन्छ भने आफू त्यही गर्न तयार रहेको’ बताउँदा उहाँले ‘त्यसो होइन अघि बढ्नुपर्छ’ भन्नुभएको स्रोतले दाबी गरेको छ । उनले अगाडि पीडा पोखिन्-खुद मैले नै मेरो फेसबुक वालमा राखेको फोटो झिकेर काटकुट पारी बेइज्जत गर्न पाइन्छ ?
प्रधानमन्त्री र आफ्ना बाउ- आमावीचको संवाद सुनेपछि छोरीले भनिन्-जब यहाँ काम गर्ने वातावरण हुन्न,पाइला पाइलामा हुर्मत लिइन्छ अनि नेपाली युवाहरु बिरक्तिएर बिदेश पलायन हुनुको बाध्यता पुष्टि हुन्छ । जन आस्था बाट

तपाईको समाचार, लेख /रचना वा सुझाव र प्रतिक्रिया भएमा [email protected] मा पठाउनुहोला ।