मनोज गजुरेलसँग विवाह हुने कुप्रचार गरियोः नायिका वर्षा सिवाकोटी

हाम्रो सन्देश संवाददाता

काठमाडौं, २९ मंसिर ।

हास्यकलाकार मनोज गजुरेलसँग बिहे हुने हल्लाको नायिका वर्षा सिवाकोटीले खण्डन गरेकी छिन् । उनले सोमबार यस्तो हल्लालाई कुप्रचारको संज्ञा दिँदै यस्ता हल्ला फैलाउनेहरु ‘मानसिक विक्षिप्तता’ भएका मानिसहरुको रुपमा चित्रित गरेकी छिन् ।

उनले मनोज गजुरेलसंग विवाह गर्ने हल्लामा कुनै सत्यता नरहेको र आफु दुईको बाटो नै फरक रहेको स्पष्ट पारेको छिन् । उनले आक्रोशित हुँदै लेखेकी छिन्, ‘भिजिटर बढाउने नाममा यथार्थ भन्दा निकै बाहिर पुगेर गरिएको प्रचारले नेपालको पत्रकारिता क्षेत्रनै बदनाम बनाएको छ ।’

यस्तो छ अभिनेत्री वर्षा सिवाकोटीको भनाई-

“वर्षा सिवाकोटी र मनोज गजुरेलको बिहे हुँदै” भनेर विभिन्न अनलाइनमा आएको समाचारहरु देख्दा दया लागेर आयो । भिजिटर बढाउने नाममा यथार्थ भन्दा निकै बाहिर पुगेर गरिएको प्रचारले नेपालको पत्रकारिता क्षेत्रनै बदनाम बनाएको छ । पत्रकारितामा गलत न्यारेटिभ सेट गर्ने हिसाबले फैलाइएका यस्ता हल्लाहरुले सहि अर्थमा पत्रकारिता गर्नेमाथि पनि प्रश्न उठेको छ ।

आदरणिय सर, मनोज गजुरेलको र मेरो बाटो अलग अलग छ । मेरो उहाँप्रति सम्मान सधै उचो नै रहेको छ । हामीलाई जोडेर कुप्रचार गर्दा कसको पो फाइदा होला र ?
कलाकार भन्दैमा जे पनि लेख्न र भन्न पाइन्छ भन्ने ‘मानसिक विक्षिप्तता’ बेलैमा हटाएको राम्रो ।