सुनको मूल्यमा सामान्य गिरावट

हाम्रो सन्देश संवाददाता

काठमाडौं, २९ मंसिर ।

सुनको मूल्यमा सामान्य गिरावट आएको छ।

सोमबारका लागि नेपाली बजारमा छापावाल सुनको मूल्य ९२ हजार ४ सय रुपैयाँ कायम भएको छ। आइतबार छापावाल सुन प्रतितोला ९२ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो।

यता चाँदीको मूल्य भने स्थिर छ। आइतबार १२ सय रुपैयाँ प्रतितोलामा कारोबार भएको चाँदीको मूल्य सोमबारका लागि पनि १२ सय रुपैयाँ नै कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

कृषि विकास बैंकको १५ प्रतिशत बोनस शेयर घोषणा, सरकारलाई ६ प्रतिशत नगद लाभांश

कृषि विकास बैंकले गत आर्थिक वर्ष २०७६/७७ को मुनाफाबाट १५ प्रतिशत बोनस शेयर दिने भएको छ। सोमबार बिहान बसेको ८५३ औं सञ्चालक समितिको बैठकले चुक्ता पुँजीको १५ प्रतिशत बोनस शेयर र बोनस शेयरमा लाग्ने कर प्रयोजनका लागि ०.७८ प्रतिशत नगद लाभांशको प्रस्ताव गरेको हो।

सञ्चालक समितिले नेपाल सरकारको हाल कायम भएको फिर्ता नहुने अग्राधिकार शेयर पुँजीमा समेत वार्षिक ६ प्रतिशतले हुने नगद लाभांश रकम प्रदान गर्ने निर्णय गरेको छ। कृषि विकास बैंकमा नेपाल सरकारको अग्राधिकार शेयर ५ अर्ब ४३ करोड रुपैयाँ रहेको छ। यसबापत नेपाल सरकारले ३२ करोड ५८ लाख रुपैयाँ प्राप्त गर्ने छ।

हाल नेपाल सरकारको अग्राधिकार शेयर बाहेकको शेयर पुँजी ९ अर्ब ५५ करोड रुपैयाँ रहेको छ। अहिले प्रस्ताव गरेको बोनस शेयर वितरण पछि बैंकको चुक्ता पुँजी १० अर्ब ९८ करोड रुपैयाँ पुग्नेछ। यसमा नेपाल सरकारको अग्राधिकार शेयर जोडिदा चुक्ता पुँजी १६ अर्ब ४१ करोड रुपैयाँ कायम हुनेछ।

बैंकको सञ्चालक समितिले प्रस्ताव गरेको लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भए पछि वार्षिक साधारणसभा बोलाउन सक्ने छ।