प्रचण्ड भन्छन् : “नारायणकाजीलाई कमानसिंहसँग जोडेर अनावश्यक प्रचार नगरौं

हाम्रो सन्देश संवाददाता

काठमाडौं, २८ मंसिर ।

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कमानसिंह लामा र हाइड्रोपावरको विवादमा पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठलाई अनावश्यक रुपमा जोडेर प्रचार भएको बताएका छन् ।

प्रधानमन्त्री निवास बालुवाटारमा बसेको नेकपा स्थायी कमिटीको बैठकले केन्द्रीय सदस्य लामाको निधनमा शोक प्रस्ताव पारित गरेको छ ।

बैठकमा अध्यक्ष प्रचण्डले लामा र हाइड्रोपावरको विवादमा प्रवक्ता श्रेष्ठलाई मुछेर अनावश्यक प्रचार भएको भन्दै त्यसको भ्रममा नगर्न र त्यस्तो प्रचारमा नलाग्न आग्रह गरेका छन् ।

पछिल्लो समय विवादास्पद लेनदेनमा नारायणकाजी श्रेष्ठको एक अडियो भिडियो बाहिर आएपछि उनलाई विभिन्न आरोप लागेको छ ।

श्रेष्ठले भने उक्त लेनदेनमा आफ्नो कुनै संलग्नता नभएको र जोसुकैले जुनसुकै स्तरको अनुसन्धान गर्न सक्ने बताएका छन् ।

केही व्यक्तिहरु भने पूर्वमाओवादीलाई सिध्याउनको लागि पूर्वएमालेहरु सक्रिय रहेको बताउँछन् ।