काठमाडौं, २८ मंसिर ।
प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले सोमबार देशव्यापी प्रदर्शन गर्दैछ । सरकारविरुद्ध कांग्रेसले प्रदर्शन गर्न लागेको हो । कोरोना रोकथाम नियन्त्रण र उपचारमा सरकारले देखाएको उदासीनता, स्वास्थ्य सामाग्री खरिदमा भएको भ्रष्ट्राचार, वरिष्ठ नेता रामचन्द्र पौडेलमाथि मंसिर १७ गते तनुहुँमा भएको गिरफ्तारीको विरोधमा प्रदर्शन गर्न लागिएको कांग्रेसले जनाएको छ । सोमबारको विरोध प्रदर्शनमा सहभागिता जनाउन आफ्ना कार्यकर्तालाई आह्वान गरिसकेको छ ।
कोरोनाको महामारी चलिरहेको छ र सरकारको ध्यान कोरोनाको महामारीतर्फ गम्भीर छैन । नागरिकको जीवन अस्पतालमा बेड नपाएर, भेन्टिलेटर नपाएर, सामग्रीहरू नपाएर छटपटीरहेको बेलामा सरकार र सत्तारुढ पार्टी आफ्नो सत्ताको द्वन्द्वमा केन्द्रित भएको छ । बढिरहेको भ्रटाचारको विरुद्धमा समेत प्रदर्शन केन्द्रीत हुने कांग्रेस नेताहरुको भनाइ छ । यो सरकार बनेपछाडी निरन्तर बढिरहेको भ्रष्ट्राचार, स्वास्थ्य सामग्रीको खरिद सम्म भएको भ्रष्ट्राचारदेखि लिएर भ्रष्ट्राचारको अनेकन प्रकरणहरुको विरुद्ध सडकमा उत्रिनु परेको कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माको भनाइ छ ।
सम्बोधन गर्न केन्द्रबाटै नेता खटाइयो
देशैभरको प्रदर्शनमा केन्द्रीय कार्यालयबाटै प्रतिनिधि खटाइएको छ । शीर्ष नेताहरूले देशका मुख्य सहरका प्रदर्शनमा सम्बोधन गर्न लागेका छन् ।
प्रतिपक्षले तताउने भनेको सदन र सडक नै हो । अहिले सदन बन्द छ । विकल्प सडक नै हो । तर कांग्रेसले यस्तो बेला सडक तताएको छ, जतिबेला कोरोना महामारी कुन अवस्थामा फैलिएको छ भन्ने यकिन छैन । अर्कोतर्फ राजावादीहरूले वर्तमान व्यवस्थाविरुद्ध सडक तताइरहेका छन् । यसले उनीहरूलाई बल पुग्नसक्ने चिन्ता छ ।
सभापति शेरबहादुर देउवा मकवानपुर जानेछन भने वरिष्ठ नेता रामचन्द्र पौडेल काठमाडौंको प्रर्दशनमा सहभागि हुनेछन् ।
त्यसैगरि उपसभापति बिमलेन्द्र निधी भक्तपुर, महामन्त्री शशांक कोइरालाले मोरङ, कोषाध्यक्ष सीतादेवी यादवले ललितपुरको कार्यक्रममा सहभागि हुने पार्टी केन्द्रीय कार्यालयले जनाएको छ ।
यस्तै सहमहामन्त्री प्रकाशशरण महत झापा, पूर्वउपसभापति गोपालमान श्रेष्ठ काभ्रे, पूर्वमहामन्त्री प्रकाशमान सिंह धनुषाको कार्यक्रममा सहभागी हुने तय भएको छ ।
केन्द्रीय कार्यालयले दिएको जानकारी अनुसार पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला महोत्तरी जाने कार्यक्रम थियो तर आइतबार कोरोना संक्रमण पुष्टि भएपछि होम आइसोलेसनमा बसेका छन् ।
अब महोत्तरी को जाने भन्ने निर्णय भने भैसकेको छैन ।
यस्तै नेताहरू चित्रलेखा यादव सप्तरी, रामशरण महत चितवन र अर्जुननरसिंह केसी पोखराको कार्यक्रममा सहभागि हुनेछन् ।
राजावादीहरूको प्रदर्शनमा भारतीय घुसपैठ !
जिल्ला सभापतिहरूले माग गरेअनुसार केन्द्रीय सदस्यहरू जिल्लाहरूमा हुने प्रदर्शनमा सहभागी हुने कांग्रेस केन्द्रीय कार्यालयले जनाएको छ । केन्द्रीय सदस्यहरू गगन थापा कैलाली, प्रदीप पौडेल कञ्चनपुर, एनपी साउद अछाम जाने कार्यक्रम छ ।
कोरोना महामारी शुरु भएपछि फागुनदेखि सार्वजनिक कार्यक्रम नगरेको प्रमुख प्रतिपक्ष नेपाली काग्रेसले अब सडकवाट सरकारलाई दबाब दिन देशभर प्रदर्शनको तयारी गरेको छ । पछिल्लो समय राजावादीहरूले देशका विभिन्न सहरमा प्रदर्शन गरेपछि संघीय लोकतान्त्रिक गणतन्त्रमा नै खतरा सरकारका कारण उत्पन भएको र जनता अन्यत्र जाने देखिएपछि काग्रेस सडकमा आउन तयार भएको देखिन्छ ।
प्रदर्शनका लागि केन्द्रबाटै १० वटा नारा तय गरी परिपत्र गरिएको छ । संघीय लोकतान्त्रिक गणतन्त्रका पक्षमा नारा लगाउन भनेको कांग्रेसले केपी शर्मा ओली नेतृत्वको सरकारलाई भने सर्वसत्तावादीको आरोप लगाएको छ ।