काठमाडौं, २८ मंसिर ।
साताको पहिलो दिन सेयर बजार परिसूचक करिब ५० अंकले वृद्धि हुँदा दुई हजारको बिन्दू पार गरेको छ । अघिल्लो साता दुई हजारमाथि पुगेर गत साता करेक्सन देखिएको नेप्से यो साताको पहिलो दिन नै ४६.४३ अंक (२.३६ प्रतिशत) ले वृद्धि हुँदा २०१०.४५ अंकमा बन्द भएको छ ।
कोभिड–१९को कारण अन्य लगानीको क्षेत्र निष्कृय बनेको अवस्थामा नयाँ र अल्पकालीन लगानीकर्ताको बजार प्रवेश र बैंकिङ प्रणलीमा अधिक तरलता हुँदा कर्जा र निक्षेप दुबैको ब्याजदर कम हुँदा कम लागतमा उपलब्ध पुँजीको कारण नेपाली धितोपत्र बजारमा केही समय यता छुट्टै उत्साह देखिएको छ ।
आर्थिक वर्षको दोस्रो त्रैमास सकिन एक महिनाभन्दा केही समय बढी बाँकी हुँदा दोस्रो त्रैमासको वित्तीय विवरणलाई लक्षीत गर्दै संस्थागत लगानीकर्ताले नाफा बुक गरेर बिक्री चाप बढाउँदा गत साता बजारमा करेक्सन देखिएको थियो । यही बीचमा केन्द्रीय बैंकले मौद्रिक नीति समीक्षामा सेयर धितो कर्जामा पुनरावलोकन गर्ने बताउँदा लगानीकर्ता केही शसंकित भएपनि बजारले पुनः लय समातेको छ ।
आइतबार बजारको नेतृत्व जीवन बिमा समूहले गर्दा सबैभन्दा ठूलो हिस्सा रहेको बैंकिङ समूहले पनि राम्रो साथ दिएको छ । जसले गर्दा गत साता २ हजारको बिन्दूबाट ओरालो लागेको नेप्से पुनः माथि चढेको छ । सबैभन्दा धेरै उत्पादन समूहको सूचक ५.९९ अंकले बढेपपनि बजार पुँजीकरणमा ठूलो हिस्सा रहेको जीवन बिमा समूहको सूचक ४.३७ र बैंकिङ समूहको सूचक ३.१९ प्रतिशतले वृद्धि भएको छ । जसले गर्दा नेप्से पनि उच्च अंकले बढेको छ ।
यता, व्यापार होटेल र हाइड्रोपावर समूहको सूचकमा भने करेक्सन देखिएको छ । होटले समूहको सूचक ०.२९ प्रतिशतले घट्दा व्यापार र हाइड्रोपावर समूहको सूचक डेढ प्रतिशत माथिले करेक्सन भएको छ ।
तर, गत साताबाट बजारमा कारोबार रकम तुलनात्मक रुपमा घटेको छ । ९ अर्ब सम्मको कारोबार भएको बजारमा आज भने करिब ५ अर्बको कारोबार भएको छ । आज नेप्सेमा ४३ हजार ५८४ वटा कारोबारमा सूचिकृत २०३ कम्पनीको ९० लाख ५० हजार ०१६ कित्ता सेयर किनबेच हुँदा ४ अर्ब ८९ करोड ९४ लाख ८४ हजार रुपैयाँको कारोबार भएको छ ।
नेप्सेमा लगानीकर्ताको रोजाईमा नेपाल लाइफ इनस्योरेन्स देखिएको छ । आर्थिक वर्ष २०७५/०७६ को लाभांश घोषणा गर्ने चर्चासँगै लगानीकर्ता उक्त कम्पनीको सेयरमा झुम्मिएको छन् । आइतबार ७.११ प्रतिशतले सेयर मुल्य बढेको कम्पनीको ६७ करोड १ लाख ७२ हजारको कारोबार भएको छ ।
यस्तै नेपाल पुनर्बिमा कम्पनीका करिब ३६ करोडको सेयर किनेबेच भएको छ ।
आइतबार मिथिला र साधना लघुवित्तसँगै नारायणी विकास बैंकको सेयर मुल्यमा सकारात्मक सर्किट लागेको छ । २० प्रतिशत लाभांश घोषणा गर्दा साधना लघुवित्तमा लगानीकर्ता केन्द्रित भएका हुन् । गुमाउनेमा अपर तामाकोसी हाइड्रोपावरले नेतृत्व गर्दा शिर्ष ५ कम्पनीमा हाइड्रोपावर मात्रै रहेको छ ।