ओलीकै कारण बदनाम हुन भन्दा राजिनामा दिन्छु : प्रचण्ड

हाम्रो सन्देश संवाददाता

कालिकोट, २६ मंसिर ।

सत्तारूढ नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफू पनि नयाँ पुस्तालाई नेतृत्व हस्तान्तरण गर्न तयार रहेको बताएका छन्।आइतबार पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा बसेको स्थायी कमिटीको बैठकमा बोल्दै प्रचण्ड गणतान्त्रिक प्रणाली र पार्टी एकतालाई संस्थागत बनाउन व्यक्ति र पद ठूलो कुरा नभएको बताए।

‘हामीले ल्याएको परिवर्तन र पार्टी एकतालाई संस्थागत गर्ने विषयमा को अध्यक्ष हुने भन्ने ठूलो होइन,’ प्रचण्डको भनाइ उद्धृत गर्दै एक स्थायी कमिटी सदस्यले भने,‘हामी छँदै नेकपाको नेतृत्वमा नयाँ पुस्तालाई ल्याउन म अध्यक्ष छोड्न तयार छु। यसअघि प्रधानमन्त्री तथा नेकपाका अध्यक्ष केपी शर्मा ओलीले आफूले नयाँ पुस्तालाई नेतृत्व हस्तान्तरण गर्न चाहेको बताएका थिए।

नेकपाको जारी विवादबारे बोल्दै प्रचण्डले यसको दोष प्रधानमन्त्री ओलीलाई दिए । ‘उहाँले सुरूमा फायरिङ खोलेपछि हामीले पनि जवाफी फायरिङ गर्दा अहिलेको परिस्थिति आएको हो,’ प्रचण्डले बैठकमा भने,‘हामीले बैठकका लागि पत्रमात्र लेखेका थियौं। अनौपचारिक छलफलबाट त्यसको समाधान निस्कन्थ्यो। तर उहाँ सार्वजनिक रूपमा उत्रिनुभयो।’

यसैबीच नेकपाको आजको स्थायी कमिटी बैठकमा प्रधानमन्त्री ओली र प्रचण्डले छुट्टाछुट्टै रूपमा सचिवालयमा राखेका प्रस्तावहरूलाई छलफलको एजेन्डामा राखिएको छैन। आजको बैठकमा पार्टीको आन्तरिक जीवनमा देखिएका समस्याबारे छलफल गर्ने एजेन्डा बनेको एक स्थायी कमिटी सदस्यले जानकारी दिए।

‘दुई अध्यक्षका प्रस्तावहरू त्यही एजेन्डाभित्र हुन्छ। ती प्रस्तावमाथि मात्र छलफल गर्ने भन्ने छुट्टै एजेन्डा छैन,’ उनले भने। आज बसेको नेकपा स्थायी कमिटी बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित थिए। उनले आफू बैठकमा उपस्थित नहुनाको कारणसहित दुई पेजको पत्र पठाएका थिए। मंसिर २८ गते फेरि बस्ने गरी आजको बैठक सकिएको छ ।

स्थायी समितिको निर्णय मान्‍नै पर्छ भन्‍ने छैन

प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओलीले दलभित्र आफूविरुध्द गुटबन्दी गरेको भन्दै स्थायी समितिमा उपस्थिति नजनाएको उनको निजी सचिवालयले जनाएको छ । उनले शनिबारको सचिवालय बैठकमै स्थायी समितिमा प्रस्ताव लैजाने विषयमा असहमति राख्दै उपस्थित नहुने बताएका थिए ।

ओलीले स्थायी समिति बैठक सार्नु पर्ने बताएका थिए । उनी निकट सदस्यले एक कार्यदल बनाएर साझा प्रतिवेदन बनाउनु पर्ने समेत बताएका थिए । अर्का अध्यक्ष दाहालले आफ्‍नो प्रस्तावमाथिको अडानलाई कायम राखेपछि ओली असन्तुष्ट भएका हुन् ।

प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले पार्टी कार्यालयमा कुनै पनि स्वास्थ्य प्रोटोकल तय नगरिएको र समस्या समाधानमा पनि जोड नदिएको भन्दै त्यहाँ नजाने धारणा राखेको बताए । ‘स्वास्थ्यको कारण भने पनि राजनीतिक कारण नै प्रमुख हो,’ थापाले इकागजसँग भने, ‘स्वास्थ्यसँगै राजनीतिक कारण धेरै छन् । त्यो सबैमा जगजाहेर नै छ ।’

थापाले बैठक के भयो, कस्तो भयो भन्‍नेमा प्रधानमन्त्रीले चासो नराख्‍ने समेत बताउँदै भने, ‘बसेका होलान्, तर व्यवस्थित छैन । एक नम्वर अध्यक्ष नै नभएको बैठकको निर्णय प्रधानमन्त्रीले मान्‍नैपर्छ भन्‍ने छैन ।’