काठमाडौं, २२ मंसिर ।
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफू पनि नयाँ पुस्तालाई नेतृत्व हस्तान्तरण गर्न तयार रहेको बताएका छन्। आइतबार बसेको स्थायी कमिटीको बैठकमा प्रचण्ड गणतान्त्रिक प्रणाली र पार्टी एकतालाई संस्थागत बनाउन व्यक्ति र पद ठूलो कुरा नभएको बताए।
‘पदभन्दा महत्वपूर्ण गणतन्त्र र पार्टी एकता हो। आवश्यक परे जो कसैले पनि त्याग गर्न तयार हुनुपर्छ। हामीले ल्याएको परिवर्तन र पार्टी एकतालाई संस्थागत गर्ने विषयमा को अध्यक्ष हुने भन्ने ठूलो होइन,’ प्रचण्डको भनाइ उद्धृत गर्दै स्थायी कमिटी सदस्य युवराज ज्ञवालीले भने, ‘हामी छँदै नेकपाको नेतृत्वमा नयाँ पुस्तालाई ल्याउन म अध्यक्ष छोड्न तयार छु।’
बैठकमा अध्यक्ष प्रचण्डले नेकपासामु समाजवादको तयारीको महत्वपूर्ण जिम्मेवारी रहेको बताएका थिए। समाजवादी क्रान्तिको तयारीका निम्ति सिंगो पार्टी एकढिक्का भएर लक्ष्यमा अघि बढ्नुपर्नेमा उनको जोड थियो। प्रचण्डले आफूहरु कुनै आवेश र उत्तेजनामा नआई पार्टी एकताको रक्षाका निम्ति सक्रिय भएको पनि बैठकमा जानकारी दिएका थिए।
बैठकमा कार्यकारी अध्यक्ष प्रचण्डले दुवै अध्यक्षद्वारा प्रस्तुत प्रस्तावमाथि गम्भीर छलफल गरेर एउटा निष्कर्षमा पुग्नुपर्ने बताएका थिए। पार्टीको संकट समाधानका लागि स्थायी समितिको बैठक कोशेढुंगा हुने पनि उनले विश्वास व्यक्त गरेका छन्। बैठकमा प्रचण्डले डेढ घण्टा लामो सम्बोधन गर्दै पार्टीभित्रको संकट र यसको समाधानबारे आफ्नो दृष्टिकोण प्रस्तुत गरेका थिए।
बैठकपछि स्थायी कमिटी सदस्य हरिबोल गजुरेलले अध्यक्ष दाहालले पार्टी एकतामै जोड दिएको जानकारी दिए। एकताको विकल्प एकता नै हो भनेर प्रचण्डले भनेको पनि गजुरेलले जानकारी दिए। आज बसेको नेकपा स्थायी कमिटी बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित थिए। मंसिर २८ गते फेरि बस्ने गरी आजको बैठक सकिएको छ।