४ बजे डाकिएको मन्त्रिपरिषद् बैठक सर्‍यो

हाम्रो सन्देश संवाददाता

काठमाडौं , १८ मंसिर ।

आज (बिहीबार) अपरान्ह ४ बजेका लागि डाकिएको मन्त्रिपरिषद् बैठक एक घण्टा पर सरेको छ। बैठक ५ बजे प्रधानमन्त्रीको सरकारी निबास बालुवाटारमा बस्नेछ ।

हरेक हप्ता सोमवार र बिहीवार मन्त्रिपरिषद्को नियमित बैठक बस्ने गरेको छ । सोहि अनुरुप आज प्रधानमन्त्री निबास बालुवाटारमा बैठक बस्न लागेको हो ।

बैठकअघि प्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रपति विद्यादेवी भण्डारीबीच शितलनिवासमा भेटघाट भएको छ ।

प्रधानमन्त्रीको सचिवालयले नियमित भेटघाट भएको बताएको छ । तर पछिल्लो समय पार्टीमा विवाद चर्किरहेका बेला भएको भेटलाई अर्थपूर्ण मानिएको छ ।

कोभिड–१९ सम्बन्धी संयुक्त राष्ट्रसंघको महासभाको लागि प्रधानमन्त्रीको सम्बोधन

प्रधानमन्त्री केपी शर्मा ओलीले कोभिड–१९ सम्बन्धी संयुक्त राष्ट्रसंघको विशेष महासभालाई सम्बोधन गर्ने भएका छन् । प्रधानमन्त्री ओलीले डिसेम्बर ३ र ४ मा हुने ३१ औं विशेष महासभामा सम्बोधन गर्न लागेका हुन् ।

महासभाको प्रोटोकलअनुसार प्रधानमन्त्री ओलीको सम्बोधनको अडियो तथा भिडियो पठाइएको छ । उक्त सम्बोधनको भिडियो उद्घाटनकै दिन राति १ देखि २ बजेबीच सार्वजनिक हुनेसक्ने बताइएको छ । उक्त भिडियोमा कोभिड १९ को महामारी र त्यसले नेपालमा पारेको प्रभावबारे उल्लेख छ।

उद्घाटनका दिन अनुभव आदानप्रदान गरिनेछ। दोस्रो दिन कोभिड–१९ ले विश्वमा पारेको प्रभाव, खोपको विकासको अवस्था, आर्थिक, सामाजिक र मानव स्वास्थ्यमा पारेको असर पारेको विषयमा छलफल हुनेछ ।

विशेष महासभामा १ सय ४१ जनाले सम्बोधन गर्ने कार्यक्रम तय भएको छ । त्यसमध्ये ५३ राष्ट्रप्रमुख, ३९ सरकार प्रमुख र ४ उपप्रधानमन्त्री र ३८ जना मन्त्री छन्।