माधव नेपालले भने- ‘सुरेन्द्र पाण्डेमाथि अभद्र व्यवहार गर्नेलाई कार्वाही गरिन्छ’

हाम्रो सन्देश संवाददाता

काठमाडौं , ७ मंसिर ।

पूर्वप्रधानमन्त्री तथा सत्तारुढ नेकपाका वरिष्ठ नेता माधवकुमार नेपालले नेकपाका स्थायी कमिटि सदस्य सुरेन्द्र पाण्डेविरुद्ध अभद्र व्यवहार गर्नेलाई कार्वाही गर्ने बताएका छन् ।

सामाजिक सञ्जालमार्फत प्रेस वक्तव्य जारी गर्दै उनले राप्ती नगर पार्टीको बैठकमा सहभागी भई मन्तब्य राखिरहेको बेला अनाधिकृत रूपमा प्रवेश गरेका केही ब्यक्तिहरूले सुनियोजित रूपमा अभद्र ब्यवहार तथा नाराबाजी गरेकोप्रति भत्सर्ना गर्दै जोसुकै भएपनि छानविन गरी कडा भन्दा कडा कार्बाही गर्न स्थानीय पार्टी कमिटिको ध्यानाकर्षण गराएका छन् ।

जारी विज्ञप्तीमा भनिएको छ :
२०७७ मंसिर ६ गते
विज्ञप्ती !
गृह जिल्लाका विकास आयोजनाहरूको अनुगमन तथा पार्टीका कार्यक्रमहरूमा सहभागी हुने क्रममा चितवनमा रहनुभएका हाम्रो पार्टीका स्थायी कमिटी सदस्य, पूर्व अर्थमन्त्री तथा प्रतिनिधिसभा सदस्य कमरेड सुरेन्द्र पाण्डे आज राप्ती नगर पार्टीको बैठकमा सहभागी भई मन्तब्य राखिरहेको बेला अनाधिकृत रूपमा प्रवेश गरेका केही ब्यक्तिहरूले सुनुयोजित रूपमा गरेको अभद्र ब्यवहार तथा नाराबाजीको निन्दा एवम् भर्त्सना गर्दछु । सभ्य, सुसॅस्कृत एवम् समुन्नत समाज निर्माण गर्ने उद्धेश्य बोकेको कम्युनिष्ट आदर्श अबलम्वन गर्ने लोकतान्त्रिक कम्युनिष्ट पार्टीका लागि पटक्कै नसुहाउॅने उक्त कार्य गर्नेर गराउने जो सुकै भएपनि छानविन गरी कडा भन्दा कडा कार्बाही गर्न स्थानीय पार्टी एवम् सम्बन्धित सबैको गंभीर ध्यानाकर्षण गराउॅछु ।

पाण्डे उपस्थित कार्यक्रममा साविक युवा संघ चितवनका नेता केदार आचार्य र अनेरास्ववियु चितवनका नेता सुरज थपलिया समूहले नाराबाजी गर्दै कार्यक्रम बिथोलेका थिए ।