कोटेश्वरबाट विप्लवका तीनजना विद्यार्थी नेता पक्राउ

हाम्रो सन्देश संवाददाता

काठमाडौं , ६ मंसिर ।

प्रहरीले सरकारबाट प्रतिबन्धित नेत्रविक्रम चन्द ‘विप्लव’ समूहका तीनजना विद्यार्थी नेतालाई पक्राउ गरेको छ । महानगरीय प्रहरी परिसर काठमाडौंको टोलीले शुक्रबार राति उनीहरुलाई पक्राउ गरेको हो ।

परिसरका प्रहरी उपरीक्षक तथा प्रवक्ता सोमेन्द्र सिंह राठौरका अनुसार पक्राउ पर्नेहरु तिनैजना विद्यार्थी नेता हुन् । यद्यपि उनीहरुले संगठनमा आफ्नो भूमिकाबारे प्रहरीसमक्ष बताएका छैनन् ।

पक्राउ पर्नेहरुमा कैलाली टिकापुर–३ घर भएका २४ वर्षीय मेगेन्द्र न्यौपाने, कालिकोट पन्चालझर्ना गाउँपालिका–४ घर भएका २५ वर्षीय हंशराज सेजुवाल र काभ्रे घर भएका १८ वर्षीय रमेश क्षेत्री रहेको राठौरले बताए ।

पक्राउ परेका तीनै जनामाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रचण्ड भेटेपछि विष्णु पौडेलले भने : बस्तीमा खोलो पसेको छ, हामी वारिपारि हुन सक्छौँ

नेकपाका कार्यकारी अध्यक्ष प्रचण्ड भेटेर फर्किँदा अर्थमन्त्री तथा महासचिव विष्णु पौडेल उत्साही सुनिएनन् । शिलापत्रसँग कुरा गर्दै उनले लक्षणामा भने, ‘कहिलेलेकाहीँ बस्तीभित्र खोलो पस्दा त्यहाँभित्रका मानिसहरू चाहेर या नचाहेर पनि वारिपारि हुनुपर्ने हुन्छ । त्यस्तै स्थिति आउँदै छ, नेकपामा ।’

शुक्रबार धुम्बाराहीमा उनीहरू दुई जनाको कुराकानी हल हुने किसिमले अघि बढेन । प्रचण्डले सुरुमै पौडेलको राय जान्न चाहे । उनले महासचिवलाई सोधे, ‘दुई वटा प्रतिवेदन आउने भनिएको छ । यो सामान्य स्थिति होइन पार्टीभित्र । तपाईंले कसरी हेर्नु भएको छ ?’

पौडेलले ठोस जवाफ दिएनन् । कुनै उपाय पनि सुझाएनन् । यत्ति भने, ‘९९.९९ प्रतिशत पार्टी कार्यकर्ता र जनप्रतिनिधिको भावना पार्टी कुनै पनि हालतमा नफुटोस् भन्नेमा छ । पार्टी बचाउनुपर्‍याे ।’

निकट स्रोतका अनुसार पौडेलले समझदारीको बाटो बिगार्न नेतृत्वबाटै सुरु भएको भन्दै विगतको सहमतिमा फर्कनुपर्ने सुझाएका थिए । पार्टी र सरकार सञ्चालनको सीमारेखा नभुल्न आफूले दुवै अध्यक्षलाई आग्रह गर्ने उनले बताएका थिए ।

‘त्यस्तो धेरै कुरा गर्न सकिएन । अहिले त एक अर्काको मुड बुझ्ने काम चलिरहेको छ,’ पौडेलले फेरि संकेतमा बोले, ‘यति चैं प्रष्ट हो, परिस्थिति निकै संवेदनशील छ ।’

‘उसोभए नेकपाको बस्तीभित्र पसिरहेको खोलो कस्तो प्रकारको हो, कहाँबाट पसिरहेको हो ?’

‘त्यो चैं म भेटेर भन्छु,’ पौडेलले हाँस्दै फोन राखे ।