इतिहासकै अत्याधिक मत बाइडेनलाई, ओबामालाई उछिने

हाम्रो सन्देश संवाददाता

कात्तिक,२१ काठमाडौं ।

अमेरिकी राष्ट्रपति निर्वाचनमा इतिहासकै सबैभन्दा बढी मत डेमोक्रेटिक पार्टीका उमेद्वार जो बाइडेनले प्राप्त गरेका छन् । अमेरिकामा राष्ट्रपतिका लागि भएकाे निर्वाचनकाे जारी मतगणनामा बाइडेनले इतिहासमै बढी सात करोड २० लाख लाेकप्रिय मत प्राप्त गरेका हुन् ।

यसअघि सन् २००८ मा बाराक ओबामाले ६ करोड ९४ लाख ९८ हजार पाँच सय १६ मत प्राप्त गरेका थिए । याे लाेकप्रिय मत नै अमेरिकी राष्ट्रपति निर्वाचनमा प्राप्त सबैभन्दा बढी थियाे । हालकाे निर्वाचनमा बाइडेनले याे रेकर्ड ताेडेका छन् ।

अमेरिकी राष्ट्रपतिका लागि भएको निर्वाचनका मतगणना आउने क्रम जारी छ । केही राज्यमा मतगणना नसकिएकाले बाइडेनको मत अझ बढ्ने देखिन्छ । यतिबेला बाइडेनले आफ्ना प्रतिस्पर्धी डोनाल्ड ट्रम्पलाई लोकप्रिय मतमा जितेका छन् । बिहीबार बिहानसम्ममा ट्रम्पले ६ करोड ८५ लाखभन्दा बढी मत प्राप्त गरेका छन् ।

यस पटक अमेरिकी चुनावको इतिहासमै सबैभन्दा बढी मत खसेको बताइएको छ । करिब १६ करोड अमेरिकी नागरिकले मतदान गरेको पाइएकाे छ ।

पछिल्लो मत गणनाअनुसार बाइडेनले २६४ इलेक्टोरल मत प्राप्त गरेका छन् भने ट्रम्पले २१४ इलेक्टोरल मत प्राप्त गरेका छन् । अमेरिकी राष्ट्रपतिमा विजयी हुनका लागि २७० इलेक्टोरल मत आवश्यक पर्छ ।