कलाकार किरण केसीको जग्गा माओवादीको कब्जामा

हाम्रो सन्देश संवाददाता

चितवन, १६ साउन ।

‘राता मकै’ उपनामले परिचित हाँस्य कलाकार किरण केसीको चितवनस्थित माडीमा रहेको करिब ५० विगाह जग्गा क्रान्तिकारी माओवादीले कब्जा गरेको छ । केसीको ट्‍वान्टी वान ग्रुप नामक संस्थाको नाममा रहेको जग्गा माओवादीले कब्जा गरेको हो ।

भूमाफियाको नाममा उक्त जग्गा रहेकोले जग्गा कब्जा गरिएको नेपाल क्रान्तिकारी माओवादीले जनाएको छ । ‘काठमाडौं बस्‍ने भूमाफिया किरण केसी भन्ने मान्छेको ट्वान्टी वान ग्रुपको नाममा माडीमा रहेको जग्गा कब्जा गरेको घोषणा गरेका छौँ’, माओवादीका केन्द्रीय सदस्य घननाथ सापकोटाले भनेका छन् ।

माडी नगरपालिकाका मेयर ठाकुर प्रसाद ढकालले नगरकै निति विपरित कृषियोग्य जग्गा खण्डिकरण गर्न मालपोतलाई गोप्य रुपमा स्वीकृति दिएको भन्‍ने विषय बाहिर आएपछि व्यापक विरोध भएको थियो । विरोधपछि जग्गाको कित्ताकाट पनि रोकिएको छ ।

माडीका मेयर ढकालले भुमाफियासँग करोडौँ रुपैयाँ कमिसन खाएर कृषियोग्य जग्गा कित्ताकाट गर्न स्वीकृति दिएको उनीहरुको आरोप छ । कब्जा गरिएको उक्त जग्गा सुकुम्बासीहरुलाई वितरण गरिने सापकोटाको भनाइ छ ।