वडा सदस्यको पनि कोरोना सङ्क्रमणबाट मृत्यु

हाम्रो सन्देश संवाददाता

चितवन, २ कात्तिक ।

खैरहनी नगरपालिका वडा नम्बर १२ का वडा सदस्य ४९ वर्षीय बद्रीवहादुर पाण्डेको कोरोना सङ्क्रमणका कारण मृत्यु भएको छ । उनी क्यान्सर रोगबाटसमेत पीडित थिए ।

भरतपुर अस्पतालमा उपचारका क्रममा पाण्डेको गएराति मृत्यु भएको हो ।अस्पतालका सूचना अधिकारी लिलाधर पौडेलका अनुसार उनमा असोज २८ गते सङ्क्रमण पुष्टि भएको थियो । आईसोलेसनमा रहेका उनलाई असोज ३० गते अस्पताल भर्ना गरिएको थियो । खोकी र श्वासप्रश्वासमा समस्या रहेको उनको क्यान्सरको तेस्रो केमो चलिरहेको अवस्थामा मृत्यु भएको हो ।

अस्पतालको कोभिड सघन उपचार कक्षमा भेन्टिलेटरमा राखी उनको उपचार भईरहेको थियो । उनी नेपाली काङ्ग्रेसबाट गएको स्थानीय तहको निर्वाचनमा विजयी भएका थिए । नेपाली काँग्रेस चितवनका जिल्ला सभापति जीतनारायण श्रेष्ठले पाण्डेको निधनमा गहिरो दुःख प्रकट गर्नुभएको छ । यस अघि जिल्लाकै भरतपुर महानगरपालिका वडा नम्बर २० का निर्वाचित वडा अध्यक्षको कोरोना सङ्क्रमणका कारण मृत्यु भएको थियो ।

हाम्रो सन्देशमा प्रकाशित कुनैपनि लेख वा सामग्रीबारे गुनासो तथा सुझाव भए [email protected] मा पठाउनु सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर र भाईबरमा पनि जोडिन सक्नुहुन्छ ।