अध्यक्ष दाहालबाट प्रा डा श्रेष्ठप्रति श्रद्धाञ्जलि

हाम्रो सन्देश संवाददाता

काठमाडौं, ३० असोज ।

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टीका पूर्व केन्द्रीय सल्लाहकार प्रा डा राममान श्रेष्ठको निधनको खबरले आफूलाई मर्माहत तुल्याएको बताएका छन् ।

अध्यक्ष दाहालले दिवङ्गत श्रेष्ठप्रति श्रद्धाञ्जलि व्यक्त गर्दै शोकाकुल परिवार तथा आफन्तजनमा समवेदना प्रकट गरेका छन् । प्राडा श्रेष्ठ तत्कालीन नेकपा (माओवादी केन्द्र)का केन्द्रीय सल्लाहकार थिए । राष्ट्रियसभाका पूर्व सदस्य श्रेष्ठ प्राज्ञिक व्यक्तित्वका रुपमा समेत परिचित थिए ।

प्रा डा श्रेष्ठको ८२ वर्षको उमेरमा आज काठमाडौं भीमसेनगोलास्थित निवासमा निधन भएको हो । उनी त्रिभुवन विश्वविद्यालय गणित विषयका प्राध्यापक, नेपाल प्राध्यापक सङ्घका पूर्वसभापति, नेपाल बुद्धिजीवी परिषद्का पूर्वअध्यक्ष, त्रिभुवन विश्वविद्यालयका पूर्वशिक्षाध्यक्ष पनि थिए । उहाँ विसं २०५४ मा तत्कालीन नेकपा (एमाले)को तर्फबाट राष्ट्रियसभा सदस्य बनेका थिए। रासस

हाम्रो सन्देशमा प्रकाशित कुनैपनि लेख वा सामग्रीबारे गुनासो तथा सुझाव भए [email protected] मा पठाउनु सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर र भाईबरमा पनि जोडिन सक्नुहुन्छ ।