ईश्वर पोखरेलले चार अर्ब अनियमितता गरेको खुलासा, कारवाही होला त ?

हाम्रो सन्देश संवाददाता

काठमाडौँ, २२ असार ।

सरकारमा हुँदा विवादै विवादमा परेका ईश्वर पोखरेलको चलखेल सरकारबाट बाहिरिएपछि पनि रोकिएको छैन । सुरुमा ओम्नीसँगको साँठगाँठ र पछि नेपाली सेनामार्फत स्वास्थ्य सामाग्री खरिद गरी कमिसनका कारण विवादमा तानिएका उनी अहिले पनि स्वास्थ्य क्षेत्रका ठेक्काहरुमा सक्रिय छन् ।

कोभिड–१९ केन्द्रीय अस्पताल वीर अस्पतालको ठेक्कामा उनकै चलखेल रहेको प्रष्ट भएको छ । अस्पतालका प्रमुख प्रशासकीय अधिकारी डा. जागेश्वर गौतमसँग मिलेर उनले चलखेल जारी राखेका छन् । जसअनुसार करिब १५ करोड रुपैयाँको ठेक्का म्याक्सिम इन्कर्पोरेसन ट्रेडर्स प्रालिलाई दिलाइएको छ । भेन्टिलेटर र प्यासेन्ट मोनिटर ठेक्का पोखरेल र डा गौतमका निकट सुन्दर भुसाललाई दिइएको छ । स्पेसिफिकेसन नै सो कम्पनीलाई मिल्नेगरी बनाएर ठेक्कामा अनियमितता भएको स्रोतले जानकारी दिएको हो ।

यसअघि स्वास्थ्यसम्बन्धि खासै काम नगरेको म्याक्सिमलाई एकै पटक १२ करोड ४३ लाख रुपैयाँको भेन्टिलेटर खरिदको ठेक्का दिएका दिइएको छ । त्यस्तै, दुई करोड ७६ लाखको प्यासेन्ट मोनिटर खरिदको ठेक्का समेत सोही कम्पनीलाई दिइएको छ ।

यसका लागि सुरुमा बायो मेडिकल इन्जिनियरको सेटिङ गरिएको थियो । विगतमा म्याक्सिम कम्पनीमै कार्यरत बायो मेडिकल इन्जिनियर भावना बराललाई वीर अस्पतालमा नियुक्ति गरेर स्पेशिफिकेसनमा चलखेल भएको थियो । खरिद इकाइ प्रमुख भगवती थपलिया र श्याम विकलगायतलाई समेत यसमा सेटिङ मिलाइएको छ । यस विषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले् समेत छानबिन सुरु गरिसकेको छ ।

म्याक्सिमका मालिक सुन्दर भुसाल अध्यक्ष रहेको क्यानभास कलेजमा डा. गौतमको तीन हजार थान सेयर रहेकोमा हालै डा गौतमले सो शेयर भुसाललाई नै बिक्रि गरेका थिए । त्यस्तै, ग्यालेक्सी इन्भेष्टमेन्ट कम्पनीमा गौतम र भुसाल दुवैको लगानी छ । यूनिफाइड अस्पतालमा हाल कोभिड उपचारका नाममा लुट्ने काम मात्र भइरहेको कर्मचारीहरु बताउँछन् ।

ईश्वर पोखरेल लगायत उच्च तहको राजनीतिक संरक्षण भएपछि यसरी महामारीको बेला भ्रष्टाचार मौलाएको हो । यसअघि खोप खरिदमा समेत कमिसनको चलखेल भएको प्रष्ट भइसकेको छ । प्रधानमन्त्री केपी शर्मा ओली निकट एक समूह सांसद किन्न र चुनाव खर्चका लागि भनेर ठूलो रकम उठाउने धन्दामा सक्रिय रहेको छ । महामारीलाई नै सरकारले खर्च उठाउने अवसर बनाएको छ ।-दृष्टिबाट

वीर अस्पतालका प्रमुख कार्यकारी अधिकारी डा. जागेश्वर गौतमविरुद्ध कोभिड उपचारका लागि खरिद गर्न लागिएको स्वास्थ्य उपकरण खरिदका लगि सेटिङमा टेन्डर आह्वान गरेको आरोपमा न्याम्सका उपकुलपति, प्रधानमन्त्री कार्यालय, अख्तियार दुरुपयोग अनुसन्धान आयोगदेखि राष्ट्रिय सतर्कता केन्द्रसम्म उजुरी परेको छ ।

विशेष स्रोतका अनुसार अस्पताल कर्मचारी परिवारको तर्फबाट डा. गौतमले नयाँ सर्जिकल भवन सञ्चालनका लागि चार अर्ब बराबरको उपकरण खरिदमा अनियमितता गरेको र उनले हालसम्म विभिन्न पदमा बसेर अकुत सम्पत्ति आर्जन गरेको भन्दै छानविनको मागसहित उजुरी परेको हो ।

स्रोतका अनुसार उजुरीमा डा. गौतमले ‘मेडिकल माफिया र स्वास्थ्य सचिवको योजनामा कोभिडको नाममा हुने उपकरणलगायतका सामान खरिदमा कमिसनको लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले प्रतिष्ठान ऐन र नियमविपरीत वीर अस्पताललाई छुट्टाएर सो को प्रमुखमा स्वास्थ्य सेवामा विवादित र अकुत कालो धन आर्जन गरेका गौतमलाई नियुक्ति गरी आफू निकट व्यापारीलाई मात्रै हुनेगरी हालै झन्डै एक अर्ब रुपैयाँ बराबरको टेन्डर निकालेको’ व्यहोरा उल्लेख छ ।

डा. गौतमले स्वास्थ्य सचिवको मिलेमतोमा करोडौको उपकरण खरिद सम्झौता गरिसकेको र असार ९ गते झन्डै एक अर्बको टेन्डर जम्मा ५ दिन समय दिएर आफू निकटसँग पहिल्यै सबै स्पेसिफिकेसन्स (मापदण्ड) मिलाएर टेन्डर आह्वान गरेको र उनकै लगानी रहेको म्याक्सिम इन्कर्पाेरेट ट्रेर्डसलाई हुनेगरी स्पेक तयार गरी अरु फर्मले टेन्डर भर्न नपाउने गरी विभिन्न उपकरण खरिद गरेको उनीहरूको आरोप छ ।-बाह्रखरीबाट साभार गरिएको हो।