आईपीएल १९ सेप्टेम्बरदेखि, फाइनल १० नोभेम्बरमा

हाम्रो सन्देश संवाददाता

काठमाडौं, १९ साउन ।

इन्डियन प्रिमियर लिग (आईपीएल) टी–२० को १३ औं संस्करण सेप्टेम्बर १९ देखि सुरु हुने भएको छ ।

आइतबार बसेको आईपीएल गभर्निङ काउन्सिलको बैठकले भारतीय सरकारबाट प्रतियोगिता आयोजना गर्न ग्रिन सिग्नल पाएको र सेप्टेम्बर १९ देखि युएईमा आईपीएल हुने तय भएको इन्डिया टिभीले जनाएको छ ।

फाइनल खेल नोभेम्बर १० मा हुने छ । बैठकमा काउन्सिलले प्रत्येक फ्रेन्चाइजको लागि २४ जना खेलाडी राख्न पाउने प्रावधान राखेको छ ।

यस्तै कोभिड–१९ को रिप्लेसमेन्ट राख्न पाउने नियम पनि स्वीकृत गरेको छ । लिगमा १० दिन दुई–दुई खेल हुनेछ । बेलुकाको खेल साढे ७ बजे सुरु हुनेछ ।
एन्फाले ३३ खेलाडीलाई काठमाडौं बोलायो

कतार विश्वकप छनोटको खेललाई मध्यनजर गर्दै अखिल नेपाल फुटबल संघ (एन्फा)ले सबै खेलाडीलाई काठमाडौं बोलाएको छ ।

भदौ पहिलो साताबाट खेलाडीलाई बन्द प्रशिक्षणमा राख्ने उद्देश्यले ३३ जना खेलाडीलाई एन्फाले काठमाडौं बोलाएको हो । विश्वव्यापी बनेको कोरोना भाइरस (कोभिड—१९) का कारण गत चैत ४ गतेबाट एन्फाले सचिवालयसमेत बन्द रहने गरी सम्पूर्ण फुटबल गतिविधि बन्द गरेको थियो ।

त्यसयता सम्पूर्ण फुटबल गतिविधि स्थगित भएका छन् । तर जुन ५ मा एशियाली फुटबल महासंघ (एएफसी) ले कतारमा हुने फिफा विश्वकप २०२२ तथा चीनमा हुने एसियन कप २०२३ को छनोट खेलका लागि नयाँ मिति तय गरेपछि एन्फालाई राष्ट्रिय टिमको प्रशिक्षण थाल्न दबाब परेको थियो ।

छनोट खेल अन्तर्गत नेपालले घरेलु मैदानमा हुने खेलका लागि राष्ट्रिय टोलीका सबै खेलाडी सम्पर्कमा आइसकेको टोलीका व्यवस्थापक मधुसुदन उपाध्यायले बताए ।

एएफसीले प्रस्ताव गरेको नयाँ तालिकाअनुसार नेपालले अक्टोबर ८ मा चाइनिज ताइपेई र अक्टोबर १३ मा अस्ट्रेलियाविरुद्ध घरेलु मैदानमा प्रतिस्पर्धा गर्नेछ । त्यस्तै नोभेम्बर १२ मा नेपालले जोर्डनविरुद्ध खेल्नेछ ।

छनोट खेलका लागि भदौ पहिलो साता भित्र खेलाडीको पिसिआर परिक्षण गरेर सहायक प्रशिक्षक किरण श्रेष्ठले टोलीलाई अभ्यास गराउने तयारी भइरहेको उपाध्यायले जानकारी दिए । बन्द प्रशिक्षणमा रहदा खेलाडीले विभिन्न समूहमा रहेर अभ्यास गर्ने व्यवस्थापक उपाध्यायले जानकारी दिए ।

एन्फाले घरेलु छनोट खेल दर्शक विना खेलाउने तयारीका साथ मैदानको मर्मत कार्यलाई पनि तीब्रता दिइरहेको छ । छनोट अन्तर्गत समूह ‘बी’ मा रहेको नेपाल तीन अंकका साथ चौथो स्थानमा छ ।

नेपालको समूहमा अस्ट्रेलिया १२ अंकका साथ शीर्ष स्थानमा छ । समान १० अंक जोडेको कुवेत र जोर्डन क्रमशः दोस्रो र तेस्रो स्थानमा छन । कुनै अंक नजोडेको चाइनिज ताइपेई पाँचौं स्थानमा छ ।

हाम्रो सन्देशमा प्रकाशित कुनैपनि लेख वा सामग्रीबारे गुनासो तथा सुझाव भए [email protected]com मा पठाउनु सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर र भाईबरमा पनि जोडिन सक्नुहुन्छ ।