कोरोना संक्रमितको संख्या २० हजार नाघ्यो, २४ घन्टामा थप ३१५ जनामा संक्रमण

हाम्रो सन्देश संवाददाता

काठमाडौं, १७ साउन ।

मुलुकभर थप ३१५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शनिबार गरेको नियमित कोभिड १९ प्रेस ब्रिफिङमा प्रवक्ता डा जागेश्वर गौतमले पछिल्लो २४ घन्टामा ३१५ जना संक्रमित फेला परेको जानकारी दिएका हुन् ।

२४ घन्टामा ९३ जना डिस्चार्ज भएको प्रवक्ता गौतमले बताए । योसँगै निको हुनेको संख्या १४ हजार ४९२ पुगेको छ । २४ घन्टामा ६ हजार ३०४ परीक्षण गरिएको छ । प्रवक्ता गौतमका अनुसार क्वारेन्टाइनमा १३ हजार २०१ रहेका छन् ।

सहसचिव १४ लाख घुससहित पक्राउ

तुलसीपुर उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत(सहसचिव) कृष्णकान्त उपाध्याय १४ लाख घुससहित पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले शुक्रवार साँझ काठमाडौँको नागढुंगाबाट उनलाई पक्राउ गरेको हो ।

अख्तियारको टोलीले उपाध्यायसँगबाट १४ लाख ४८ हजार सात सय ९६ रुपैयाँमध्ये १ लाख २४ हजार सात सय ५० नगद र बाँकी १३ लाख २४ हजार ४६ रुपैयाँको बैङ्कमा डिपोजिट स्लिप बरामद गरेको छ ।उपाध्यायले घुस लिएको १४ लाखमा १ लाख १४ हजार आफ्नो साथमा राखी बाँकी सबै पैसा बैङ्कमा डिपोजिट गरिसकेको अख्तियारले जनाएको छ ।

श्रोत नखुलेको अस्वाभाविक रकम साथमा लिई हिडेंको भन्ने सूचनाको आधारमा आयोगको टंगालबाट खटिगएको टोलीले उपाध्याय चढेको बा.२ झ. ४०९९ नम्बरको सरकारी गाडी चन्द्रागिरि नगरपालिका वडा नं. २, नागढुङा, काठमाडौँमा रोकी चेक जाँच गर्दा रकमसहित पक्राउ परेका हुन् ।

तपाईको समाचार, लेख /रचना वा सुझाव र प्रतिक्रिया भएमा [email protected] मा पठाउनुहोला ।