के फेरि काठमाडौंमा लकडाउन हुँदैछ ? जनताले नै माग गर्न थाले

हाम्रो सन्देश संवाददाता

काठमाडौं, १६ साउन ।

दिनदिनै कोरोना संक्रमितको संख्या बढेसँगै जनस्तरबाटै लकडाउनको माग उठ्न थालेको छ । बिहीबारदेखि नै सामाजिक सञ्जाल प्रयोगकर्ताले फेरि लकडाउनको माग थालेका हुन् ।

काठमाडौंलगायत विभिन्न जिल्लामा कोरोना भाइरस समुदायस्तरमा फैलिसकेको देखिएपछि जनताले नै लकडाउनको माग गरेका हुन् । त्यही मागअनुसार स्याङ्जा, बाँके, सप्तरी, महोत्तरी, मोरङलगायतका जिल्लामा अनिश्चितकालीन निषेधाज्ञा लगाइएको छ ।

कोरोना संक्रमण तिब्र फैलिन थालेपछि काठमाडौं उपत्यकामा फेरि कडा खालको लकडाउन गर्ने सरकारले तयारी गरेको छ । उपत्यकामा पछिल्ला केही दिनदेखि एकाएक संक्रमित बढेपछि महामारीको ‘इपिसेन्टर’ बन्ने खतरा भएको भन्दै यस्तो तयारी गरिएको स्रोतले जनाएको छ ।

सरकारले गत ११ चैतदेखि घोषणा गरेको लकडाउन ६ साउनबाट अन्त्य गरेको थियो । हाल बजार, छोटो दूरीका सार्वजनिक यातायात, उद्योग, कलकारखाना र सरकारी कार्यालय खुलेका छन् । लकडाउन खुलेसँगै मानिसहरुमा सचेतनाको पक्ष कमजोर देखिँदा संक्रमणको जोखिम उच्च भएको छ । पछिल्लो समय उपत्यकामा दैनिक ५० जना हाराहारीमा संक्रमित देखिन थालेका छन् ।

उच्च सरकारी अधिकारीहरुले पनि फेरि लकडाउन गर्नुपर्ने अवस्था आउन सक्ने भएकाले तयारी गर्दै गर्नुपर्ने सुझाव प्रधानमन्त्री कार्यालय र कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) मा दिन थालेका छन् ।

स्वास्थ्यमन्त्री भानुभक्त ढकालले काठमाडौं उपत्यकामा कोरोना संक्रमण बढ्दै गएको विषयमा अब के गर्नेबारे मन्त्रालयलका उच्च अधिकारीसँग छलफल थालेको बताइएको छ । अहिलेकै रेसियोमा कोरोना संक्रमित बढ्न थाले काठमाडौं उपत्यकाको अवस्था भयावह हुने अवस्था छ ।

तपाईको समाचार, लेख /रचना वा सुझाव र प्रतिक्रिया भएमा [email protected] मा पठाउनुहोला ।