बर्मन बुढाको श्रद्धाञ्जलीमा गएनन् पूर्व एमालेका शीर्ष नेता

हाम्रो सन्देश संवाददाता

काठमाडौं, ७ साउन ।

रोल्पा थवाङका पुराना कम्युनिष्ट नेता बर्मन बुढाको श्रद्धाञ्जलीका लागि पूर्व माओवादीका शीर्ष नेताहरु आर्यघाट पुग्दा पूर्व एमाले पक्षका शीर्ष तहका नेता पुगेनन्। पूर्व एमाले र पूर्व माओवादीबीच एकीकरण भए पनि श्रद्धाञ्जलीमा पूर्व एमाले पक्षका माथिल्लो तहका नेता देखिएनन्।

श्रद्धाञ्जलीमा पूर्व माओवादी नेतासमेत रहेका उपराष्ट्रपति नन्दकिशोर पुन आर्यघाट पुगेका थिए। यसैगरी प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकाेटा, नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सहितका नेताहरुले श्रद्धाञ्जली दिएका छन्। पूर्व सभामुख कृष्णबहादुर महरा,उर्जामन्त्री वर्षमान पुन, नेताहरु अमिक शेरचन, ओनसरी घर्ती, मातृका यादवलगायतका पनि उपस्थित थिए।

पूर्व प्रधानमन्त्री डा बाबुराम भट्टराई पनि बुढाको श्रद्धाञ्जलीमा पुगेका थिए। नेकपा (क्रान्तिकारी माओवादी)का अध्यक्ष मोहन वैद्यले आर्यघाट पुगेर श्रद्धाञ्जली दिए।

पूर्व एमाले नेता तथा हाल विदेश विभाग उपप्रमुख रहेका विष्णु रिजाल आर्यघाटको श्रद्धाञ्जलीमा सहभागी भए।

यसअघि असार २ मा रितबहादुर खड्काको स्मृति दिवसमा पार्टी कार्यालयमा राखिएको कार्यक्रममा पनि पूर्व एमालेका तर्फबाट नेताहरु उपस्थित भएका थिएनन्। तत्कालीन समयमा कार्यालय सचिव भएकै कारण कृष्णगोपाल श्रेष्ठ मात्रै उपस्थित थिए।

माओवादी सशस्त्र युद्धका बेलामा बुढाले सक्रिय भूमिका निभाएका थिए। पूर्व सांसदसमेत रहेका बुढाको उपचारको क्रममा बुधबार बिहान निधन भएको हो। ९० वर्षको उमेरमा बुढाको निधन भएको हो।

तपाईको समाचार, लेख /रचना वा सुझाव र प्रतिक्रिया भएमा [email protected] मा पठाउनुहोला ।