प्रधानमन्त्री ओली शीतलनिवासबाट बाहिरिए

हाम्रो सन्देश संवाददाता

काठमाडाैं, ७ जेष्ठ ।

प्रधानमन्त्री केपी शर्मा ओली शीतल निवासबाट बाहिरिएका छन्। उनी राष्ट्रपतिलाई भेट्न शुक्रबार अपराह्न शीतल निवास पुगेका थिए।

राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री ओलीबीच भेट चलिरहँदा १४९ जनाको हस्ताक्षर बोकेर शीलत निवास पुगेका विपक्षी गठबन्धनका नेताहरुले भने प्रतीक्षा गर्नुपरेको थियो।

विपक्षी गठबन्धन कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्रीमा प्रस्ताव गर्नका लागि शीतलनिवास पुगेको हो। राष्ट्रपतिले संविधानको धारा ७६ (५) अनुसार प्रधानमन्त्रीमा दाबी गर्न शुक्रबार ५ बजेसम्मको समय दिएकी छिन्।

पदमुक्त भएका सात मन्त्रीको जिम्मेवारी प्रधानमन्त्री ओलीलाई

बिहीबार सर्वोच्च अदालतको आदेशले पदमुक्त भएका सात मन्त्रीको जिम्मेवारी प्रधानमन्त्री केपी शर्मा ओली स्वयंले लिएका छन्। शुक्रबार राष्ट्रपति कार्यालयले विज्ञप्ति जारी गर्दै त्यसबारे जानकारी गराएको हो।

गैरसांसदका रुपमा मन्त्री भएका सात जनाविरुद्ध परेको रिटमा सर्वाेच्चले उनीहरूलाई मन्त्रीका रुपमा काम नगर्न/नगराउन भनेको थियो।

सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूले मौजुदा मन्त्रिपरिषद्‍का तपसिल बमोजिमका मन्त्रीहरूलाई सर्वोच्च अदालतको मिति २०७८/२/६ को अन्तरिम आदेश बमोजिम रिट निवेदनको अन्तिम टुङ्गो नलागेसम्म निजहरूलाई मन्त्रीको हैसियतमा कुनै पनि कामकारबाही नगर्नु, गर्न नदिनु भनी अन्तरिम आदेश जारी भएको हुँदा निजहरूले सम्हाली आउनु भएको मन्त्रालयहरूको कार्यभार अर्को व्यवस्था नभएसम्मका लागि सम्माननीय प्रधानमन्त्री स्वयंले सम्हाल्ने गरी तोक्न सम्माननीय प्रधानमन्त्री श्री केपी शर्मा ओलीज्यूको मिति २०७८/२/७ को सिफारिस बमोजिम सम्माननीय प्रधानमन्त्रीले सम्हाल्ने गरी तोक्नु भएको छ’, विज्ञप्तिमा भनिएको छ।

पदमुक्त हुने मन्त्रीहरूमा रामबहादुर थापा, टोपबहादुर रायमाझी, लेखराज भट्ट, प्रभु साह, मणिचन्द्र थापा, गौरीशंकर चौधरी र दावा लामा तामाङ रहेका छन्।