प्रधानमन्त्री ओली र नेता नेपालबीच सिंहदरबारमा छलफल सुरु

हाम्रो सन्देश संवाददाता

काठमाडौं, २ जेठ ।

प्रधानमन्त्री केपी शर्मा ओली र नेता माधवकुमार नेपालबीच छलफल सुरु भएको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरवारमा छलफल सुरु भएको हो ।

आज कार्यदल गठनको टुंगो लगाउने तयारी भएकाे छ । यसअघि दुवै समूहका दोस्रो तहका नेता समेत सहभागी बैठकले विवाद समाधानका लागि कार्यदल बनाउने र उक्त कार्यदल गठनको जिम्मेबारी ओली र नेपाललाई दिने निर्णय गरेको थियो।

एमालेलाई ०७५ जेठ २ अघिकै अवस्थामा फर्काउनुपर्ने माधव समूहको माग छ।

उक्त मागप्रति अध्यक्ष ओली सहमत भएको नेपाल समूहका नेताहरुले दाबी गरेका छन्।

बादलका कारण एमालेमा फेरि झमेला !

नेता नेपालले आफ्नो तर्फबाट नेताहरु भीम रावल, सुरेन्द्र पाण्डे, घनश्याम भुषाल र रघुजी पन्तको नाम सिफारिश गरेका छन् । ओलीको तर्फबाट ईश्वर पोखेरेल, रामबहादुर थापा, विष्णु पौडेल, सुवास नेम्वाङ र विष्णु रिमाल रहने बुझिएको छ । तर, नेपाल पक्षले बादल सहभागी भएको विषयमा भने आपत्ति जनाउँदै आएको छ ।