थप २० जनामा कोरोना संक्रमण, संक्रमितको संख्या ५०७ पुग्यो

हाम्रो सन्देश संवाददाता

जेठ ९ , काठमाडौं ।

नेपालमा थप २० जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जन संख्या मन्त्रालयका अनुसार शुक्रवार बाँके जिल्लामा १४ जनामा कोरोना संक्रमण पूष्टि भएको छ ।

उनीहरु १८ देखि ६१ वर्ष उमेरका पुरुषहरु छन् । उनीहरु मध्ये १८ वर्षीय पुरुष राप्ती सोनारीका हुन् भने बाँकी १३ जना नरैनापुर गाउँपालिकाको रहेको मन्त्रालयले बताएको छ ।

डडेलधुरा जिल्लाको पराशुराम –१० का २८ वर्षीय पुरुष र जिल्लाको शिवनाथ–१ का २२ वर्षीय पुरुषमा कोरोना संक्रमण पूष्टि भएको हो ।

त्यसैगरी कैलाली जिल्लाका तीन जनामा संक्रमण पूष्टि भएको छ । जानकी गाउँपालिकाको सरस्वती माविको क्वारेन्टाइनमा रहेका १९, २३ र २६ वर्षीय पुरुषमा संक्रमण पूष्टि भएको हो ।

यस्तै मोरङ जिल्लाको रतुवामाई–२ का एक जनामा पनि संक्रमण पूष्टि भएको छ ।यससँगै संक्रमितको संख्या ५०७ पुगेको छ ।

हाम्रो सन्देशमा प्रकाशित कुनैपनि लेख वा सामग्रीबारे गुनासो तथा सुझाव भए [email protected] मा पठाउनु सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर र भाईबरमा पनि जोडिन सक्नुहुन्छ ।