मिनेन्द्र रिजालले भारतीय मिडियामा दिए यस्तो कडा जवाफ

हाम्रो सन्देश संवाददाता

काठमाडौं, ८ जेठ ।

संघीय सांसद तथा नेपाली कांग्रेसका नेता मिनेन्द्र रिजालले भारतीय सञ्चार माध्यमलाई दिएको एक अन्तर्वार्ताको जवाफ अहिले भाइरल भएको छ । नेता रिजालले भारतीय च्यानल ‘रिपब्लिक टेलिभिजन’मा ‘दि डिबेट’ कार्यक्रममा यस्तो प्रतिक्रिया दिएका छन्। भारतीय सञ्चार माध्यमलाई दिएको अन्तर्वार्ताका क्रममा नेता रिजालले दिएको जवाफ नेपालमा अहिले भाइरल भएको छ । भारतमा संस्थापन पक्षधरको रुपमा चिनिएका पत्रकार अर्नव गोस्वामीसँगको अन्तर्वार्तामा रिजालसँगै नेपाली दुई पत्रकार पनि थिए । अर्नवले अन्तर्वार्तामा ह्यासट्यागको रुपमा ‘चीनले नेपाललाई प्रयोग गर्छ‘ भन्ने वाक्यलाई बहसको विषय बनाएका थिए । बहसमा चीन र नेपालको सम्बन्धलाई लिएर जसरी भारतीय पत्रकारले आरोप लगाए रिजालले त्यसलाई खारेज गरे ।

रिजालले नेपाल भारतसँग जस्तै चीनसँग पनि मित्रता राख्न चाहने बताएका थिए । साथै पत्रकारलाई जवाफ दिँदै उनले भने, ‘कोसँग मित्रता राख्ने र कोसँग नराख्ने भन्ने हामी निर्णय गर्छौँ, तपाईँले आफ्नो कुरा हामीलाई भन्न नलगाउनूस् ।’ भारतीय पत्रकार र वक्ताहरु भने बहसको क्रममा सीमा विवादको मुद्दा भन्दा पनि चीनसँग नेपालको सम्बन्धलाई लिएर दोषारोपणमा उत्रिएका थिए । उनीहरुले चीन कसैको मित्र हुन नसक्ने र अहिले नेपाललाई प्रयोग गरिरहेको आरोप लगाएका थिए । नेता रिजालले सीमाको विषयलाई ‘डाइभर्ट‘ गर्न खोजिएको भन्दै नेपाल सरकारले नक्सा सार्वजनिक गरेको निर्णयलाई खुलेर प्रशंसा गरे । पत्रकार अर्नव, भारतीय नेता तथा वुद्धिजीवीले उठाएका प्रश्नको जवाफ दिँदै उनले भारत नै लामो समयदेखि वार्ताको लागि तयार नरहेकोमा प्रतिप्रश्न गरेका थिए ।
रिजालले भारतीय मिडियाको एकपक्षीय आरोपबाट आफुहरु निराश भएको पनि प्रतिक्रिया दिएका थिए । यस्तो तरिकाबाट समस्या समाधान नहुने बरु संवादका लागि तयार रहनुपर्ने सुझाव पनि दिए । भारतीय टेलिभिजन प्रस्तोता अर्नव पछिल्लो समय त्यहाँ सत्तारुढ दल भारतीय जनता पार्टी निकट तथा हिन्दुत्वको नाराको पक्षमा वकालत गर्ने पत्रकारको रुपमा चिनिन्छन् । यसपटक उनले राष्ट्रियताको सवालमा जिम्मेवार विपक्षी दलको नेताको रुपमा देखाएको परिपक्वताको प्रशंसा गरिएको छ । पत्रकारहरु प्रकास रिमाल र सुवास घिमिरेले पनि बहसलाई प्रस्तोताले विषयान्तर गरेकोमा आपत्ति जनाएका थिए ।

उनीहरुले सीमाबारे बहस केन्द्रित गर्न आग्रह गरेका थिए । साथै कालापानी क्षेत्र नेपालको भएको विभिन्न ऐतिहासिक प्रमाण र तथयले पुष्टि गर्ने पत्रकार घिमिरेको भनाइ थियो ।सामाजिक सञ्जालमा उनले सीमा रक्षा र राष्ट्रियताबारे दिएको अभिव्यक्तिलाई लिएर फेसबुक तथा ट्वीटरमा शेयर गर्न थालेका छन् ।
नेता रिजालले अन्तर्वार्ताका क्रममा प्रस्तोतालाई पटक पटक गलत व्याख्या गरिएको र पुर्वाग्रही भएको भन्दै सच्चिन सुझाव दिएका छन् । उनले सिमानाका बारेमा सारा नेपाली एक ठाउँमा रहेको बताउदै कसैको उक्साहटमा लागेको भन्ने व्याख्याको कडा रुपमा खण्डन गरेका छन् ।

तपाईको समाचार, लेख /रचना वा सुझाव र प्रतिक्रिया भएमा [email protected] मा पठाउनुहोला ।