आज थप १७ जनामा काेराेना: सङ्क्रमित ४४४ पुगे

हाम्रो सन्देश संवाददाता

काठमाडौं, ८ जेठ ।

कोरोना भाइरसको संक्रमण आज थप १७ मा देखिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारीले बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान र प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला विराटनगरमा गरिएको परीक्षणमा थप सङ्क्रमण देखिएको बताउनुभयो । आज नयाँ थपिएसँगै सङ्क्रमित ४४४ पुगेका छन् ।

नयाँ सङ्क्रमितमा झापाका १५ तथा धनकुटा र सुनसरीका एकएक छन् । उहाँका अनुसार झापा कचनकवल गाउँपालिका वडा नं ३, ६ र ८ निवासी १८, १८, १९, १९, २२, २३, २३, २५, २६, २६, २८, ३०, ३२, ३७ र ४६ वर्षीय पुरुष, धनकुटा निवासी ३४ वर्षीय पुरुष, सुनसरी धरान उपमहानगरपालिका निवासी ५१ वर्षीया महिला छन् ।

बुधबार २५ जनामा सङ्क्रमण देखिएको थियो । अहिलेसम्म ४५ जना पूर्णरूपमा स्वस्थ्य भई घर फर्किसकेका छन् । सङ्क्रमितको स्वास्थ्यावस्था सामान्य छ । ती स्वास्थ्यकर्मीको निगरानीमा रहेका छन् ।

हाम्रो सन्देशमा प्रकाशित कुनैपनि लेख वा सामग्रीबारे गुनासो तथा सुझाव भए [email protected] मा पठाउनु सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर र भाईबरमा पनि जोडिन सक्नुहुन्छ ।