भारतीय पत्रकारको दाबी : नेपालले टिस्टादेखि काँगडासम्म लिन सक्छ 

हाम्रो सन्देश संवाददाता

काठमाडौं, ७ जेठ ।

नेपालमा लिम्पियाधुरा, लिपुलेक र कालापानीसहित भारतले मिचेका सबै अतिक्रमित भूमि फिर्ता गर्नुपर्ने आवाज वर्षौंदेखि उठिरहेको छ । ५ वैशाख २०७७ मा बसेको मन्त्रिपरिषद्को बैठकले नेपालको अतिक्रमित भूमि लिम्पियाधुरा, लिपुलेक र कालापानीसहितको क्षेत्र समेटिएकाे नक्सा जारी गर्ने निर्णय गरेको छ ।

भारतले नेपाली भूमिबाट तिब्बतको मानसरोवर जाने सडक उद्घाटन गरेपछि उक््त विषयलाई लिएर नेपालका सडकदेखि सदनसम्म विरोध भइरहेका बेला सरकारको पछिल्लो निर्णय आएको हो ।

नेपालको गुमेको भूमि फिर्ता गर्नुपर्ने आवाज जोडतोडले उठिरहेका बेला भारतका विदेश मामिलाका विज्ञ पत्रकार पुष्परञ्जनले पूर्वमा टिस्टा र पश्चिममा काँगडासम्मको ‘ग्रेटर नेपाल’ सार्थक हुन सक्ने आधार घुमाउरो रूपमा प्रस्तुत गरेका छन् ।

ईयू एसिया न्यूज नेटवर्कका दिल्लीस्थित सम्पादक तथा भारतका विदेश मामिलाका जानकार वरिष्ठ पत्रकार पुष्परञ्जनले भारतीय अखबार ‘दैनिक ट्रिब्युन’मा केही महिनाअघि प्रकाशित एउटा लेखमार्फत् लिपुलेक, कालापानीसहितका क्षेत्रमा देखिएको विवाद तथा नेपाल र ब्रिटिस इन्डियाबीचको सुगौली सन्धि र सन् १९५० को सन्धिबारेसमेत आफ्नो दृष्टिकोण प्रस्तुत गरेका थिए ।

भारतले ५ अगस्ट २०१९ मा जम्मु-काश्मिरलाई प्राप्त विशेषाधिकार कटौती गरेर जम्मु-काश्मिर र लद्दाखलाई अलग केन्द्रशासित क्षेत्र बनाएपछि भारतले नयाँ नक्सा जारी गरेको थियो । उक्त नक्सामा नेपालको कालापानी क्षेत्रसमेत भारतमा गाभिएपछि यस क्षेत्रको विवाद पुनः एक पटक सतहमा आएको थियो ।

यसै सन्दर्भमा पत्रकार पुष्परञ्जनले कालापानी विवादको इतिहास, ब्रिटिस भारत र नेपालबीच भएको सुगौली सन्धि तथा नेपाल र भारतबीच सन् १९५० मा भएको शान्ति तथा मैत्री सन्धिको मर्म र उद्देश्य खुलाउने गरी व्याख्या गरेका छन् ।

हाम्रो सन्देशमा प्रकाशित कुनैपनि लेख वा सामग्रीबारे गुनासो तथा सुझाव भए [email protected] मा पठाउनु सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर र भाईबरमा पनि जोडिन सक्नुहुन्छ ।