कोरोनाले गर्नसक्ने क्षतिका बारेमा सरकारलाई ज्ञान नभएको सभापति देउवाको आरोप

हाम्रो सन्देश संवाददाता

काठमाडौ,४ जेठ ।

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सरकारलाई कोरोना संक्रमणले गरेको र गर्न सक्ने क्षतिबारे ज्ञान नभएको आरोप लगाएका छन् ।

आइतबार प्रतिनिधिसभाको बैठकमा नीति तथा कार्यक्रममाथि छलफलका क्रममा सम्बोधन गर्दै सभापति देउवाले सरकारलाई जनताको दुःखको कुनै वेदना नभएको र जनताको पीडा बुझ्ने हृदय नभएको आरोप समेत लगाएका छन् ।

‘सरकारसँग यो अप्ठ्यारो बेला भविष्यकालागि जनता आश्वस्त हुने कुनै योजना छैन । एक वर्षे नीति तथा कार्यक्रम उद्देश्यबाट बरालिएर बहुवर्षीय योजनाको कोरा कल्पना जस्तो देखिन्छ । यो नीति तथा कार्यक्रम जनतामा आशा र विश्वास जगाउन पूर्णतः असफल भएको छ,, सभापति देउवाले भनेका छन्, ‘सरकारले यी सबैलाई आफू अभिभावक भएको अनुभूति गराउनु पर्ने समय हो । हाम्रो अपेक्षा थियो सरकारले ल्याउने नीतिले यस्ता सबै विषयलाई सम्बोधन गर्नेछ । सरकारका कार्यक्रमले स्रोत साधनको समुचित व्यवस्थापन गरी समस्याको उचित समाधान गर्नेछ । तर, सरकारको नीति तथा कार्यक्रमले अर्कै सन्देश दिएको छ ।’

सभापति देउवाले सरकारले ल्याएको नीति तथा कार्यक्रमले मुलुकलाई प्रगतिको वाटोमा लैजाने सिर्जनशिलता देखाउन नसकेको, कार्यक्रमको अभाव पुराना कार्यक्रम दोहोर्याईएको समेत बताएका छन् ।

सभापति देउवाले नीति तथा कार्यक्रमले राजश्वमा आउने कमीले हुने प्रभाव बारे केहि नबोलेको, कोरोना महामारीले पार्ने बहुआयामीक प्रभाव बारे बोल्न सकेको नसकेको र नेपाली समाजमा कोरोनाले पार्ने नकारात्मक प्रभावको अल्पकालिन र दिर्घकालिन समाधानका उचित उपायको खोजी गर्न नसकेको आरोप समेत लगाएका छन् ।

हाम्रो सन्देशमा प्रकाशित कुनैपनि लेख वा सामग्रीबारे गुनासो तथा सुझाव भए [email protected] मा पठाउनु सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर र भाईबरमा पनि जोडिन सक्नुहुन्छ ।