‘नयाँ नक्साको कुरा गर्नुअघि भारतसँग सल्लाह गर्नुपर्थ्यो’-सरिता गिरी

हाम्रो सन्देश संवाददाता

काठमाडौ,४ जेठ ।

देशकाे नयाँ नक्सा सार्वजनिक गर्ने विषय नीति तथा कार्यक्रममा समेट्नुअघि भारतसँग कुरा नगरेकोमाजनता समाजवादी पार्टीकी नेतृ एवम्‌ सांसद सरिता गिरीले असन्तुष्टि व्यक्त गरेकी छिन् ।

‘भारत र चीनसँग सल्लाह नै नगरी नक्सा ल्याउने विषय विदेश नीतिविरुद्ध छ।’ सरकारले आगामी आर्थिक वर्षका लागि ल्याएको नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिँदै गिरीले भनिन्‌, ‘सरकारले भारत र चीनसँग संवाद नै नगरी जुन ढंगले राष्ट्रपतिको मुखबाट नयाँ नक्सा निकाल्ने कुरा गरेको छ, यसले हाम्रो विदेश नीतिको क्षमतामाथि प्रश्न उठाएको छ।

एकातर्फ लिपुलेक र लिम्पियाधुरा समेटेर नयाँ नक्सा जारी गर्ने भनिएको छ, अर्कातर्फ परराष्ट्रमन्त्रीले यसो गर्न संविधान नै बाधक रहेको बताएका छन्।’

नीति तथा कार्यक्रम खोक्रो रहेको र सरकार अहिले सेनालाई व्यापारमा संलग्न गराएर त्यसैमार्फत भ्रष्टाचार गर्न लागिपरेको गिरीको भनाई छ ।

विदेश नीति जुवा नभएकाले दुई छिमेकीसँग कुरा गर्नुपर्ने गिरीले जिकिर गरिन् ‌। कोरोना महामारी नियन्त्रण, राहत र विदेशमा रहेका नेपाली फर्काउनेबारे नीति तथा कार्यक्रम मौन रहेको पनि उनले बताएकी छिन्‌ ।

सरकारले नीति तथा कार्यक्रममा प्रतिष्पर्धात्मकको साटो परिपूरक लोकतन्त्रको कुरा गरेको र त्यसले एकदलीय शासनतर्फ सरकार उन्मुख भएको त होइन भन्ने शंका पैदा भएको बताउँदै गिरीले भनिन्‌, ‘नीति तथा कार्यक्रममा कानुन, संवैधानिक सर्वोच्चता र प्रेस स्वतन्त्रताको कुरा गरिएको छैन।’

तपाईको समाचार, लेख /रचना वा सुझाव र प्रतिक्रिया भएमा [email protected] मा पठाउनुहोला ।