अबको विद्यार्थी आन्दोलनको स्वरुप कस्तो हुने ?

हाम्रो सन्देश संवाददाता

सुनिता बराल

आज अनेरास्ववियूको ५५ औ स्थापना दिवस । २०२२ जेठ १ देखि आजका मितिसम्मका आरोह अबरोहमा अखिल विद्यार्थी आन्दोलनको मूख्य भूमिकामा रहेको छ । पञ्चायत ब्यवस्थाको बिस्थापनको आन्दोलन हुँदै गणतन्त्र नेपालको स्थापनासम्मका आन्दोलनमा अनेरास्ववियू अग्रमोर्चामा छ ।

ब्यवस्था परिवर्तनका आन्दोलनसँगै विद्यार्थी आन्दोलनमा उनीहरुका आवश्यकतामा हाम्रो संगठन विगतमा झै सशक्त छ । दर्जनौं अग्रजहरुको बलिदान, सयौ नेताहरुको लगन र त्यागले आज देशको ठूलो विद्यार्थी संगठन बन्न सफल भएको हो अनेरास्ववियू । अहिलेको परिवर्तित सन्दर्भमा समय सापेक्ष रुपमा आन्दोलनको कार्यदिशा र स्वरुपमा परिमार्जन गर्दै यस आन्दोलनप्रतिको आम विद्यार्थीहरुको भरोसामा व्यापक र परिस्कृत रूपले बृद्धि गर्दै यसको उचाई अग्लो बनाउनुपर्ने जिम्मेवारी इतिहासले हामीलाइ दिएको छ ।

महान शहीदको सपना समुन्नत नेपाल निर्माण थियो जुन अहिले अझ टड्कारो बनेको छ । राज्यसञ्चालकहरुका अदुरदर्शी र अपरिपक्व नेतृत्व शैलीले मुलुक अझै गरिबी र असमानतामा अल्झिएको छ ।

दूरदराजको गाउँको एउटा विद्यार्थीले सुबिधा सम्पन्न र आधुनिक पद्दतिमा पढे हुर्केको संसारको अर्को कुनाको विद्यार्थीसँग प्रतिस्पर्धा गर्नुपर्ने चुनौती छ, अहिले । विज्ञान र प्रविधिमा भएको तिब्र विकासले गर्दा मानिसका आवश्यकताको धरातल फराकिलो बनाइदिएको छ भने अर्कोतिर ग्लोबलाइजेसनाको प्रभावले दुनिया एउटै गाउँ बनाइदिएको छ । यो चुनौतीले भरिएको कठिन घडीमा हाम्रो शिक्षा प्रविधिमा आधारित ब्यबसायमैत्री हुनुपर्नेछ ।

शासनले दिने अनेकन विकृत नतिजा पनि हामीले चिर्नुपर्ने दायित्व बढेको छ । हाम्रा पाठ्यक्रम पनि सोही अनुसार बदलिनुपर्नेछ, जहाँ हाम्रो संगठन कतै अभिभावकीय त कतै पुलको रूपमा उभिनुपर्ने समय आएको छ । नारा, जुलुस र घेराउको स्थापित आन्दोलनको स्वरूपलाई पनि हामीले समयसापेक्ष रूपमा बदल्नुपर्नेछ ।

सन् २०१६ मा टर्कीमा त्यहाँको सेनाको सानो समूहले गरेको ‘कू’ (Turkish coup d’état attempt) को प्रयास कसरी डिजिटल अपिलले निस्तेज पारेको थियो भन्ने उदाहरण हाम्रै सामु छ । अतः सधै माइतीघरमा ‘पुवर शो’ प्रदर्शन गरेर अब न विद्यार्थी सामेल हुनेछन् न शिक्षित जनताले समर्थन नै । यसको नेतृत्व पनि हामीले नै गर्नुपर्ने भएको छ । किनभने अखिल हिजोदेखि आजसम्म परिवर्तनको संवाहक र नेतृत्व दिने संगठन हो । अग्रजहरुको बलिदान, समर्पण र त्यागबाट यो उचाई प्राप्त गरेको विद्यार्थी आन्दोलन र त्यसको मूल प्रवाह अनेरास्ववियू विद्यार्थीको आशा र भरोसाको संगठन हो । विद्यार्थीहरुको पहिलो रोजाई हो । विद्यार्थीहरुको भरपर्दो अभिभावक हो ।

परिवर्तित सन्दर्भमा समयसापेक्ष रुपमा आन्दोलनको कार्यदिशा र स्वरुपमा परिमार्जन गर्दै हिंड्न त्यो इतिहासले निर्देशन गरेको छ । गौरवशाली हाम्रो संगठन र एकताको यो दिन हामीले लकडाउनमा बसेर मनाउनु परेको छ कोभिड–१९ महामारीका कारण । यसले हामी र हाम्रा कतिपय मुद्दा, आन्दोलनलाई ‘डिजिटलाइज्ड’ गराउनुपर्छ भन्ने सन्देश पनि दिएको छ । अबका हाम्रा चुनावहरु पनि वातावरणमैत्री बनाउनका निमित्त डिजिटलाइज्ड नै हुनुपर्छ र पोस्ट कोरोना पिरियडमा हामीले यसलाई आन्दोलन वा बानीका रूपमा विकसित गराउनुपर्छ । सँगै छिमेकीले गरेका हाम्रो स्वाभिमानमाथि गरेको हस्तक्षेपका बिरुद्धको आन्दोलन पनि डिजिटलाइज्ड गरौ जसले गर्दा हामीले गर्ने सडक प्रदर्शन भन्दा प्रभावकारी होस् । त्यसले विश्वको ध्यान खिच्नेछ र संसारले भारतको विस्तारधादी चरित्र सोसल मिडियाबाटै देख्नेछन् । यो नै सबै भन्दा ठूलो अन्तर्राष्ट्रिय अदालत पनि हो ।

कोरोना संक्रमणबाट बच्न र आफ्नो समुदायलाई बचाउन हामी अहिले चनाखो हुनुपर्ने भएको छ । जो जहाँ छौं, सो स्थानमा आउने नयाँ ब्यक्तिको पहिचान, परीक्षण र उपचार (ट्रेस, टेस्ट र ट्रीटमेन्ट) मा सरकारलाई साथ दिउँ ।

अन्त्यमा, यो आन्दोलन अब ‘समृद्ध नेपाल र सुखी नेपाली’को गन्तब्यमा पनि जोडिनु र होमिनुपर्ने समयमा आइपुगेको छ ।
बिलासिता छोडेर पारदर्शीता अपनाउँदै हामीले दिगो विकासमा जोडिने समय हो । यो आन्दोलन नैतिकता, सामुहिकता र निजत्व भन्दा माथिको संस्कार पनि हो ।

(नेकपाको युवा विद्यार्र्थी विशेष जिल्ला कमिटी सचिव बरालद्वारा संगठन स्थापना दिवसको उपलक्ष्यमा ब्यक्त विचार)

तपाईको समाचार, लेख /रचना वा सुझाव र प्रतिक्रिया भएमा [email protected] मा पठाउनुहोला ।