चीनसँगको सम्बन्ध तोड्ने ट्रम्पको चेतावनी

हाम्रो सन्देश संवाददाता

काठमाडौ,३ जेठ ।

(हाकाहाकी)–अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीनसँग सबै सम्बन्ध तोड्ने चेतावनी दिनुभएको छ ।
राष्ट्रपति ट्रम्पले फाक्स विजनेशको एक अन्तर्वाता कार्यक्रममा बोल्दै कोरोना भाइरस महामारीको कारण आफू चीनसँग रिसाएको र सारा सम्बन्ध तोड्न सक्ने बताउनुभयो ।
पछिल्लो समय अमेरिकाले भाइरसका कारण आफ्नो देशमा भएको क्षतिका सम्बन्धमा चीनले क्षतिपुर्ति दिनुपर्ने दबाब दिइरहेको छ ।

चीनले महामारी लुकाउन कोसिस गरेको अमेरिकाको आरोप छ । तर चीनले भने यसलाई अस्विकार गर्दै आएको बिबिसिले जनाएको छ ।

नेपालमा कोरोना संक्रमित हुनेहरुको संख्या २७६ पुग्यो

नेपालमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या २७६ पुगेको छ । शनिबार प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला भैरहवामा गरिएको परीक्षणमा थप ३ जनामा संक्रमण पुष्टि भएसँगै संक्रमितको संख्या २७६ पुगेको हो ।

रूपन्देहीको भैरहवास्थित प्रदेश जनस्वास्थ्य प्रयोगशालामा कोभिड–१९ परीक्षण गर्दै स्वास्थ्यकर्मी । तस्बिर : घनश्याम गौतम/कान्तिपुर

शनिबार संक्रमण पुष्टि भएकाहरुमा कपिलवस्तुको शिवराज नगरपालिका चन्द्रौटा निवासी २५, ३४ र ४४ वर्षीय पुरुष रहेको स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डाक्टर समिरकुमार अधिकारीले जनाएका छन् । योसँगै कपिलवस्तुमा मात्रै संक्रमितको संख्या ४२ पुगेको छ ।

यसअघि शनिबार बिहानै थप ६ जनामा संक्रमण पुष्टि भएको थियो । शनिबार बिहान संक्रमण पुष्टि भएकाहरुमा बर्दिया, नार्खु निवासी २८ वर्षीया महिला, सिरहा सखुवा-१९ निवासी ३० वर्षीय पुरुष, पर्सा वीरगन्‍ज-१२ निवासी २८ र २९ वर्षीय पुरुष, सर्लाही रामनगर-४ निवासी १८ वर्षीया महिला र चितवन गढौली-१ निवासी २५ वर्षीया महिला रहेको स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डाक्टर समिरकुमार अधिकारीले जनाएका छन् ।

संक्रमित सबै स्वास्थ्यकर्मीको सम्पर्कमा रहेको र सबैको स्वास्थ्य अवस्था सामान्य रहेको सहप्रवक्ता अधिकारीले जानकारी दिएका छन् । सिरहामा भने पहिलो पटक संक्रमित भेटिएको हो । योसँगै तराईका २१ मध्ये १९ जिल्लामा कोरोना संक्रमण फैलिएको छ । तराईका मोरङ र सुनसरीमा मात्रै अहिलेसम्म कोरोना संक्रमण देखिएको छैन ।

हालसम्म पर्सामा ९१, कपिलवस्तुमा ४२, बाँकेमा ३३, उदयपुरमा ३३, रुपन्देहीमा २८, काठमाडौंमा ९, कैलालीमा ४, रौतहट, बारा, धनुषा, दाङ र सर्लाही मा ३/३ तथा बागलुङ, झापा, महोत्तरी, भक्तपुर र बर्दियामा २/२ जनामा कोरोना संक्रमण देखिएको छ । त्यस्तै भोजपुर, कञ्चनपुर र नवलपरासी पश्‍चिम, नवलपरासी पूर्व, मकवानपुर र सप्तरी र सिरहामा एक/एक जनामा संक्रमण पुष्टि भएको छ ।

संक्रमण पुष्टि भएकामध्ये हालसम्म ३६ जना निको भएका छन् ।

तपाईको समाचार, लेख /रचना वा सुझाव र प्रतिक्रिया भएमा [email protected] मा पठाउनुहोला ।