१५ वर्षअघि दुर्घटनामा परेको एयर डायनेष्टीको हेलिकप्टर र दुई शव फेला

हाम्रो सन्देश संवाददाता

काठमाडौं, १७ वैशाख ।

सन् २००६ मा दुर्घटनामा परेको एयर डायनेष्टी हेलिकप्टर धौलागिरि हिमालमा भेटिएको छ। नेपाली सेनाको टोलीले दुई वटा शव र हेलिकप्टर फेला पारेको हो। सेनाको टोलीले बुधबार धौलागिरी बेस क्याम्पनजिकै हेलिकप्टर र दुई वटा शव भेटाएको हो।

नेपाली सेनाका प्रवक्ता सन्तोष बल्लभ पौडेलले नेपाली सेनाको हिमाल सफाइ अभियान २०२१ को टोलीले बिहीबार धौलागिरि आधार शिवरमा दुई मानव अवशेष र हेलिकप्टरको भग्नावशेष फेला पारेको जानकारी दिए ।

१५ वर्षअघि धौलागिरि हिमालमा दुर्घटना भएको एयर डाइनेस्टीको नाइन एन एसीआर कल साइन भएको हेलिकप्टरको भग्नावशेष भेटेको नेपाली सेनाको भनाइ छ ।

‘ती शव हेलिकप्टरमा सवार व्यक्तिको हो वा हैन भन्ने पनि खुलेको छैन, बेस क्याम्पदेखि दुई सय मिटर दक्षिण शव फैला परेका छन्,’ पौडेलले भने, ‘एयर डायनेष्टीको हो भन्ने पुष्टि भइसक्यो, यसबारे विस्तृत जानकारी आउन बाँकी छ।’

मृतकको पहिचान नखुलेको र यस विषयमा अनुसन्धान भइरहेको नेपााली सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।

मानव अवशेषहरु व्यवस्थापनका लागि सम्बन्धित निकायहरुसँग समन्वय थालिएको सेनाले जनाएको छ। नेपाली सेनाले ‘सफा हिमाल अभियान २०२१’ अन्तर्गत फोहोर संकलनका क्रममा फेला पारेको हो।

नेपाली सेनाले सगरमाथासहित ६ वटा हिमालको सरसफाई गरिरहेको छ। वैशाख १२ गतेदेखि १६ गतेसम्ममा कुहिने १५५ केजी र नकुहिने ४ हजार ६९९ केजी फोहोर संकलन गरेको छ।