खुल्यो सिइडिबी हाइड्रोपावरको आइपिओ, कस्तो छ कम्पनी

हाम्रो सन्देश संवाददाता

काठमाडौं, १७ वैशाख ।

सिइडिबी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको प्राथमिक सेयर (आइपिओ) आजबाट खुलेको छ।

अंकित मूल्य १ सयका दरले कुल २५ लाख १८ हजार २३० कित्ता सेयर निष्कासन गर्न लागेको हो। जसमध्ये कर्मचारी र सामुहिक लगानी कोषका लागि छुट्याएपछि बाँकी २३ लाख ४१ हजार ९५४ कित्ता सेयर सर्वसाधारणका लागि हो।

एक व्यक्तिले न्यूनतम १० कित्ता अर्थात १ हजार रुपैयाँको आवेदन दिन सक्नेछन्। बिक्री प्रवन्धकका रुपमा सनराइज क्यापिटल रहेको छ। आइपिओमा वैशाख २१ गतेसम्म आवेदन दिन सकिनेछ।

अनलाइन मेरो सेयरमार्फत सर्वसाधारणले घरमै बसेर आइपिओमा आवेदन दिन सक्नेछन्।

कस्तो छ कम्पनी ?

कम्पनीको प्रतिसेयर आम्दानी १३ रुपैयाँ छ भने प्रतिसेयर खुद सम्पत्ति १३८ रुपैयाँ ७९ पैसा छ। कम्पनीले यस आइपिओबाट प्राप्त गर्ने रकम ५ मेगावाट क्षमताको रुकुम गाड जलविद्युत आयोजनामा लगाउनेछ।

सो आयोजनामा १ अर्ब १४ करोड ९६ लाख रुपैयाँ लगानी लाग्ने अनुमान छ। यसमा प्रतिमेगावाट २२ करोड ९९ लाख रुपैयाँ लागत पर्नेछ।

लगानी फिर्ता हुन ७.७६ वर्ष लाग्नेछ। केयर रेटिङ नेपालले कम्पनीलाई एनपी बीबी रेटिङ प्रदान गरेको छ। जसले दायित्व वहन गर्न कम्पनी औसत स्तरमा रहेको जनाउँछ।