डा.ओममूर्ति अनिल भन्छन्, काठमाडौं वा नेपाल सुरक्षित छ भन्ने भ्रममा नपरे हुन्छ

हाम्रो सन्देश संवाददाता

वैशाख,३१ काठमाडौं ।

दिनहुँजसो पाँच हजार बढी बाहिरी जिल्लाबाट काठमाडौं उपत्यका भित्रिने क्रम जारी छ । सरकारले उपत्यका भित्रिने विभिन्न नाकामा कडाई गरे पनि यात्रुहरू विभिन्न माध्यमबाट काठमाडौं भित्रिरहेका छन् ।

खासगरी कोरोनाभाइरस संक्रमित जिल्लाका नागरिक काठमाडौं भित्रिने क्रम जारी रहेकाले अहिले सबैतिर राजधानी कोरोनाको जोखिममा परेको भन्दै चिन्ता सुरु भएको छ । चार दिनयता चार सय सवारीसाधन नागढुंगाबाट फर्काइए पनि तिनले यात्रुलाई बीचमै छाड्ने गरेको देखिएको छ । नत्र सडकमा सयौं मान्छे हिँडेको भिड देखिने थियो ।

यसैक्रममा मुटुरोग विशेषज्ञ डा.ओममूर्ति अनिलले काठमाडौं वा नेपाल कोरोनाभाइरसबाट सुरक्षित छ भनेर कोही पनि भ्रममा नपर्न आग्रह गरेका छन् । उनले सबैलाई आफ्नै घरमा सुरक्षित भएर बस्न पनि सल्लाह दिएका छन् ।

उनले काठमाडौं उपत्यकामा संक्रमित जिल्लाका धेरै मानिस परिसकेकाले आफ्नै घरमा बसेर सतर्कता अपनाउन आग्रह गरेका छन् । अनिलले अहिले बसेकै ठाउँमा सबैजना सु्रक्षित रहेको तर्क पनि गरेका छन् । यदि जथाभावी हिँड्डुल गर्दा एक दुई महिनामा नेपालमा पनि हजारौं केस देखिन सक्ने भन्दै सचेत गराएका छन् ।

डा.अनिलले शुक्रबार सामाजिक सञ्जाल फेसबुकमार्फत यस्तो सल्लाह दिएका हुन् । उनले लेखेका छन्, ‘काठमाडौं सुरक्षित छ वा नेपाल सुरक्षित छ भन्ने भ्रममा नपरे हुन्छ । तपाईं अहिले जहाँ हुनुहुन्छ त्यही बढी सुरक्षित हुनुहुन्छ, यात्रा गरे परिवारसँगै असुरक्षित भइन्छ र अन्ततः सिंगा देश । अर्को एक–दुई महिनामा यहाँ पनि हजारौ केस देखिन सक्छ, यस्तै भइराख्यो भने । त्यसपछि कहाँ जाने होला ??’

हाम्रो सन्देशमा प्रकाशित कुनैपनि लेख वा सामग्रीबारे गुनासो तथा सुझाव भए [email protected] मा पठाउनु सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर र भाईबरमा पनि जोडिन सक्नुहुन्छ ।