अहिलेसम्म ७८ हजार नमुना परिक्षण, संक्रमितको संख्या १९१ – स्वास्थ्य मन्त्रालय

हाम्रो सन्देश संवाददाता

वैशाख,३० काठमाडौं ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले हालसम्म करिब ७८ हजार नमुना परीक्षण सम्पन्न भएको जनाएको छ ।

मन्त्रालयको नियमित मिडिया ब्रिफिङ प्रवक्ता डा. विकास देवकोटाले र्यापिड डाइगोनोस्टिक टेस्ट (आरडीटी) र पीसीआर परीक्षणबाट ७८ हजार ५९१ नमुना परीक्षण भएको जानकारी गराएका हुन् ।

उनका अनुसार आरडिटी विधिबाट ५९ हजार ६२४ र पीसीआर विधिबाट १८ हजार ९६४ गरी कुल ७८ हजार ५९१ वटा नमुना परीक्षणहरु सम्पन्न भएका छन् ।

पछिल्लो २४ घण्टामा पिसिआर र र्यापिड टेस्ट गरि २ हजार २३६ नमुना परीक्षण सम्पन्न भएको मन्त्रालयले जनाएको छ ।

देशभरको सबै जिल्लामा आरडिटी विधिबाट परीक्षण भइरहेको छ भने १८ स्थानबाट पीसीआर परीक्षण भइरहेको छ ।

हाल १२ हजार ७८५ जना क्वारेन्टाइनमा रहेका छन् भने उपत्यका भित्र एक जना र उपत्यका बाहिर २२७ जना गरी २२८ जना आईसोलेसनमा रहेको मन्त्रालयले जानकारी दिएको छ ।

कुन प्रदेशमा कति संक्रमित ?

मन्त्रालयको पछिल्लो तथ्यांक अनुसार नेपालमा अहिलेसम्म १९१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जसमा १५८ जना पुरुष र ३३ जना महिला रहेका छन्

त्यसमध्ये प्रदेश १ मा ३५ जना, प्रदेश २ मा ७१, बाग्मती प्रदेशमा ७, गण्डकी प्रदेशमा २, प्रदेश ५ मा ७१ र सुदूरपश्चिममा ५ जनामा कोरोना संक्रमण देखिएको छ । हालसम्म कर्णाली प्रदेशमा कोरोना संक्रमित भेटिएको छैन् ।

आज संक्रमितहरुलाई नजिकका कोरोना अस्पतालमा लैजाने तयारी गरिएको मन्त्रालयले जानकारी दिएको छ ।

अहिले नेपालगन्जमा २४ जना, बुटवलमा २८ जना, नारायणी अस्पताल वीरगन्जमा २७ जना, भरतपुर अस्पतालमा एक जना र कोशी अस्पतालमा १९ जना उपचारत रहेका छन् ।

उपचारमा रहेका सबैको स्वास्थ्य अवस्था सामान्य रहेको प्रवक्ता देवकोटाले बताएका छन् ।

हाम्रो सन्देशमा प्रकाशित कुनैपनि लेख वा सामग्रीबारे गुनासो तथा सुझाव भए [email protected] मा पठाउनु सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर र भाईबरमा पनि जोडिन सक्नुहुन्छ ।