सुवास नेम्वाङको चेतावनी– ओलीलाई हटाउन खोजिए एकता भंग हुन्छ

हाम्रो सन्देश संवाददाता

वैशाख,२६ काठमाडौं ।

पार्टी कार्यालय धुम्बाराहीमा नेकपाका केही स्थायी कमिटी सदस्यहरु बैठक माग गर्दै अलग्गै भेलामा जुटेका बेला स्थायी कमिटीकै एक प्रभावशाली सदस्य सुवास नेम्वाङ भने संसदीय दलको कार्यालयमा बसेर बैठकको औचित्य र आवश्यकता नरहेको बताउँदै थिए ।

नेकपा संसदीय दलका उपनेता नेम्वाङ प्रधानमन्त्री केपी ओलीको ‘किचन क्याबिनेट’का सदस्य मानिन्छन् । प्रायः हरेक दिन प्रधानमन्त्रीसँग भेट्ने थोरैमध्येका एक नेता उनी अध्यादेशको भने विपक्षमा थिए । उनले प्रधानमन्त्रीलाई अध्यादेश फिर्ता लिनसमेत सुझाव दिएका थिए ।

त्यही अध्यादेशकै कारण चर्किएको विवादले गर्दा प्रधानमन्त्री ओलीको राजीनामा माग्ने र राजीनामा नदिए दुवै पदबाट हटाउने चेतावनी स्थायी कमिटीका केही नेताहरुले दिइरहेकै बेला नेम्वाङले भने नेकपाका दुवै अध्यक्षलाई महाधिवेशनअघि कुनै पनि बहुमतले हटाउन नसक्ने दाबी गरेका छन् ।

अनलाइनखबरसँग कुरा गर्दै पूर्वसभामुख नेम्वाङले भने, नेपाल कम्युनिस्ट पार्टीका एकता टुंगिएको छैन । महाधिवेशनभन्दा अघि केपी ओली वा प्रचण्ड कुनै पनि एक अध्यक्षलाई हटाउने वा राजीनामा माग्ने कुराले पार्टी एकता भंग हुन्छ र कुनै पनि बहुमतको नाममा अध्यक्ष हटाउनै मिल्दैन ।

चाहे प्रचण्डको राजीनामा माग्नुस्, चाहे केपी ओलीको राजीनामा माग्नुस् । त्यसको अर्थ के हुन्छ ? पार्टीको एकता नचाहेको हुन्छ

दुबै संविधानसभाका अध्यक्षसमेत रहीसकेका नेम्वाङले जनताको जनादेशबाट निर्वाचित प्रधानमन्त्रीको राजिनामा मागेर अस्थिरताको बिउ रोप्ने कार्य स्वीकार्य नहुने भन्दै महाधिवेशन र अर्को निर्वाचनबाट ओली दुवै पदमा पुनः नदोहोरिने दावी समेत गरे ।

उनले भने, ‘प्रधानमन्त्री केपी ओलीले प्रष्टरुपमा, प्रष्ट शब्दमा भनिराख्नुभएको छ,म एउटै कक्ष दोहोर्‍याइराख्ने व्यक्ति होइन । अर्थात महाधिवेशनपछि महाधिवेशनपछि फेरि अध्यक्ष हुने कुनै चाहना छैन ।

फेरि प्रधानन्त्री हुने पनि चाहना छैन । यस्तो अवस्थामा जनताको जनादेश विपरीत, जनता र कार्यकर्ताका चाहना विपरीत प्रश्न उठ्ने ढंगले यस्ता काममा हामी किन लाग्ने ?

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ । नजिकैको बेल (घण्टि) मा थिचे अपलोड गर्नासाथ पहिलो दर्शक बन्न पाउँनुहुनेछ ।

हाम्रो सन्देशमा प्रकाशित कुनैपनि लेख वा सामग्रीबारे गुनासो तथा सुझाव भए [email protected] मा पठाउनु सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर र भाईबरमा पनि जोडिन सक्नुहुन्छ ।