दुई दिनभित्रै स्थायी कमिटी बैठक बोलाउँछौंः प्रचण्ड

हाम्रो सन्देश संवाददाता

वैशाख, २५ काठमाडौं ।

सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले स्थायी कमिटि बैठक स्थगित भएपछि पहिलो पटक प्रतिक्रिया दिएका छन्।

आजका लागि बोलाइएको बैठक स्थगित भएपछि अध्यक्ष दाहालले पहिलो पटक बैठक स्थगित भएको विषयमा औपचारिक प्रतिकृया दिएका हुन्।

अध्यक्ष प्रचण्डले आन्तरिक गृहकार्य नपुगेकाले बैठक बस्न नसकेको बताए। अध्यक्ष प्रचण्डले अहिले दुई अध्यक्षबीच छलफल जारी रहेको बताए। प्रधानमन्त्री समेत रहेका अर्का अध्यक्ष केपीशर्मा ओलीसँगको छलफल सकिएपछि २ दिनभित्र स्थायी कमिटी बैठक बोलाउने तयारी भएको उनले बताए।

संसद भवन नयाँ बानेश्वरमा कोरोना परीक्षणका लागि स्वाव दिएपछि बोल्दै अध्यक्ष प्रचण्डले भने ‘अलि गृहकार्य नपुगेकै हो, दुबै अध्यक्षले बैठक एक दुई दिनभित्र बोलाउँछौँ।’ स्थायी कमिटी बैठकका एजेण्डा तय गर्न हिजो बोलाइएको सचिवालय बैठकमा सहमति जुट्न नसकेपछि स्थायी कमिटी बैठक अनिश्चित बनेको छ।

अध्यक्ष प्रचण्डले आज नै संसद सभाहलको अनुगमन पनि गरेका छन्। अनुगमनका क्रममा प्रचण्डले बैठक ढुक्कसँग बस्न सक्ने वातावरण बनेको बताए। ‘‘पहिले एक सिट छोडेर बस्ने भन्ने थियो तर अहिले दुई सिट छोडेर बस्न मिल्ने बनाइएको छ। स्यानिटाइजेसन गरेर राम्रोसँग स्वास्थ्य सुरक्षाका उपाय अपनाइएको छ । ढुक्कसँग बैठक बस्ने वातावरण बनेको छ।’’

आज संघीय संसद सांसदहरु र कर्मचारीहरुको स्वाव पिसिआर परीक्षणका लागि संकलन गरिएको छ। संसद बैठक बस्नुअघि परीक्षणका लागि स्वाव संकलन गरिएको हो।

हाम्रो सन्देशमा प्रकाशित कुनैपनि लेख वा सामग्रीबारे गुनासो तथा सुझाव भए [email protected] मा पठाउनु सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर र भाईबरमा पनि जोडिन सक्नुहुन्छ ।