काठमाडौं बाट वीरगञ्जका लागि छुटेको बस चेकजाँच गर्दा प्रहरीको उड्यो होस्

हाम्रो सन्देश संवाददाता

वैशाख,२३ काठमाडौं ।

प्रहरीले सवारी साधनलाई राजमार्गहरुमा नियमित चेकजाँच गर्छ। मंगलबार पनि मकवानपुर प्रहरी पूर्व पश्चिम राजमार्गको हेटौंडा खण्डमा सार्वजनिक सवारी साधानलाई चेकजाँच गर्न खटिएको थियो। र साथमा एक सूचना पनि थियो।

यात्रुबाहक बसमा अवैध सुन आउने सूचना पाएको प्रहरीले काठमाडौंबाट वीरगञ्ज जाने बसलाई पर्खिरहेको थियो। हेटौंडा–१५ को रातेमाटे भन्ने स्थानमा प्रहरीले काठमाडौंबाट वीरगञ्जका लागि छुटेको बस रोक्यो।

बसमा खानतलासी गर्दा बाहिर फलामले बेरिएको पातामा भित्रबाट विभिन्न साइजका सुनाका टुक्रा फेला परे। मकवानपुर प्रहरीले बसबाट ६ किलो, २८० ग्राग, ३५० मिली ग्राम सुन बराम भएको जनाएको छ।

प्रहरीले सो सुनसहित भारत कर्नाटका ४२ बर्षीय अब्दुल मजिद अनेकललाई पक्राउ गरिएको जानकारी दिएको छ। बरामद गरिएको सो सुनको बजार मूल्यअनुसार ४ करोड २७ लाख ५८ हजार रुपैयाँ बराबर रहेको प्रहरीले जनाएको छ।

पक्राउ परेका भारतीय नागरिक अब्दुललाई सुनसहित बाराको पथलैयास्थित राजश्व अनुसन्धान कार्यालय पठाइएको मकवानपुर प्रहरीले जनाएको छ।

हाम्रो सन्देशमा प्रकाशित कुनैपनि लेख वा सामग्रीबारे गुनासो तथा सुझाव भए [email protected] मा पठाउनु सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर र भाईबरमा पनि जोडिन सक्नुहुन्छ ।