सरकार पुनः लकडाउन थप गर्ने तयारीमा

हाम्रो सन्देश संवाददाता

काठमाडौं, २२ बैशाख ।

सरकारले पुनः लकडाउन थप गर्ने तयारी गरेको छ । सिंहदबरबारमा सोमबारर बसेको कोरोना रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समितिको बैठकमा कोरोना संक्रमितको संख्या बढ्दै गएको अवस्थामा केहि दिन लकडाउन थप गर्न सकिने बिषयमा छलफल भएको हो ।

त्यस्तै लकडाउनले आर्थिक क्षेत्रमा पारेको असरका कारण यसलाई केहि खुकुलो बनाएर जाने बिषयमा पनि छलफल भएको थियो । यसअघि सुरक्षा संयन्त्रले लकडाउन बढाउन समितिलाई सुझाव दिएको थियो ।

बैठकपछि प्रधानमन्त्री कार्यालयका सचिव तथा उच्चस्तरीय समन्वय समितिका सदस्य सचिव नारायणप्रसाद बिडारीले कोरोना रोकथाम तथा नियन्त्रणका विषयमा भइरहेका कामको समीक्षा गर्दै आगामी रणनीतिका बारेमा छलफल भएको जानकारी दिए ।

उनले लकडाउन खोल्ने बिभिन्न मोडालिटीका बारेमा छलफल भएको र मंगलबार बस्ने बैठकले निर्णय गर्ने जानकारी दिए ।

उनले भने,‘ संक्रमणको सँख्या पनि बढ्दै गएकोले सरकारले तोकेको २५ गतेको लकडाउनको अवस्थापछि थप गर्ने विषयमा छलफल तथा विश्लेषण भइरहेको छ, भोलि समितिको बैठकले खाका पेश गर्नछ । सोही सुझावको आधारमा मन्त्रिपरिषद् बैठकमा पेश हुनेछ ।’

कोरोना नियन्त्रणका लागि सरकारले चैत्र ११ गतेदेखि लकडाउनको घोषणा गरेको थियो। चरणबद्ध रुपमा थप गरिएको लकडाउन वैशाख २५ गते सकिँदैछ ।

नेपालमा हालसम्म कोरोनाका ७५ जना संक्रमित भेटिएका छन् भने त्यसमध्ये १६ जना निको भइसकेका छन्। निको भइसकेकोमध्ये दुईजना फेरि अस्पताल भर्ना भएका छन्।

हाम्रो सन्देशमा प्रकाशित कुनैपनि लेख वा सामग्रीबारे गुनासो तथा सुझाव भए [email protected] मा पठाउनु सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर र भाईबरमा पनि जोडिन सक्नुहुन्छ ।