नेकपामा सहमतिको नयाँ आधार : प्रधानमन्त्री प्रचण्ड र नेपाल दोस्रो वरियताको अध्यक्ष

हाम्रो सन्देश संवाददाता

काठमाडौं, २० बैशाख ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठक आज बस्नेछ । दिउँसो ४ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने सचिवालय बैठकमा नेकपाभित्रको विवादका विषयमा छलफल हुने भएको छ ।

बुधबार बसेको नेकपा सचिवालय बैठकमा प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष केपी शर्मा ओलीले उपाध्यक्ष बामदेव गौतमलाई नयाँ प्रधानमन्त्री प्रस्ताव गरेपछि नेकपा विवादले नयाँ मोड लिएको छ । तर कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र वरिष्ठ नेता माधव कुमार नेपालसंग प्रधानमन्त्री ओली आफ्नो प्रस्तावबाट फिर्ता भइसकेकाले आजको बैठकमा अन्य विकल्पका विषयमा छलफल हुने भएको छ ।

विवाद समाधानका लागि प्रधानमन्त्री ओलीले आज फेरि नयाँ प्रस्ताव ल्याउने स्रोतको दावी छ । उनले यसअघि गौतमलाई प्रधानमन्त्री बनाउने प्रस्ताव गरेका थिए । प्रचण्ड नेपाल पक्षधरले भने गौतमलाई प्रधानमन्त्री बनाउने प्रस्तावलाई टुंगो लगाउन आग्रह गर्ने तयारी गरेको एक सचिवालय सदस्यले जानकारी दिएका छन् ।

सहमतिको आधार के होला ?

नेकपाका सचिवालय सदस्यसहित स्थायी कमिटीका केही सदस्यहरु विवाद समाधानमा क्रियाशिल छन् । ओली, प्रचण्ड र नेपाल पक्षधर नेताहरु अहिले पनि सक्रिय छन् । विवाद समाधानका लागि विभिन्न विकल्पमा छलफल चलिरहेको छ ।

अहिलेसम्मको छलफलका आधारमा प्रधानमन्त्री ओली पुरै कार्यकाल प्रधानमन्त्री बन्ने, कार्यकारी अध्यक्ष प्रचण्ड पार्टीको पहिलो अध्यक्ष बन्ने र वरिष्ठ नेता नेपाल पार्टीको दोस्रो वरियताको अध्यक्ष बन्नेगरी छलफल चलिरहेको छ । यो विषयमा सहमतिका लागि पनि प्रधानमन्त्री ओली स्यंमले प्रस्ताव गर्नुपर्ने देखिन्छ । त्यसका लागि प्रधानमन्त्री ओलीले आफूमा रहेको अहंकार त्यागेर अन्य पक्षका कुरा पनि सुन्ने गर्नुपर्छ ।

सबै पक्षसँगको निरन्तर संवादमा रहेका एक स्थायी कमिटी सदस्यले ओलीको सचिवालय, सल्लाहकारको टोली र ओली स्वयंममा देखिएको अहंकारले अहिलेको अवस्था आएकाले उनी सच्चिएर जाने प्रत्याभूतिले मात्र नयाँ सहमतिको आधार खडा गर्ने बताएका छन् ।

सरकारमा एकलौटी मनलाग्दी निर्णय गर्ने, सचिवालय, गुटगत कार्यकर्ता र नेताहरुलाई लगाएर सामाजिक सञ्जालमा विभिन्न आरोप लगाउने परिपाटीको अन्त्य गरेर अगाडि बढ्दामात्र सहमतिको आधार तयार हुने भन्दै प्रचण्ड-नेपाल पक्षका मध्यमार्गी नेताहरुले विवाद समाधानको सुत्र प्रस्तुत गरेका छन् ।

ओली पक्षका नेताहरुसँग छलफल गरेर उनीहरुले प्रधानमन्त्रीसमक्ष यो सन्देशसमेत पठाएका छन् । प्रचण्ड-नेपाल आफ्नै नेताहरुको थप दबाबमा छन् । लामो समयदेखि पार्टीका हरेक गतिविधिमा एकलौटी ढंगले ओलीले निर्णय गर्ने र एउटा पक्षलाई पेलेर गएकाले यस्तो आइपरेको हो ।

तर ओली पक्षले भने पार्टी अध्यक्ष र प्रधानमन्त्री भएकाले केही निर्णयमा विशेषाधिकार हुने तर्क गरेका छन् । जुन तर्क मान्न अरु पक्ष तयार छैनन् । आजको सचिवालय बैठकमा ओलीले के ल्याउँछन् भन्ने कुराले नेकपाको भावी अवस्थाको टुंगो लाग्नेछ । नागरिक खबर बाट साभार

हाम्रो सन्देशमा प्रकाशित कुनैपनि लेख वा सामग्रीबारे गुनासो तथा सुझाव भए [email protected] मा पठाउनु सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर र भाईबरमा पनि जोडिन सक्नुहुन्छ ।