के वामदेव बन्लान् प्रधानमन्त्री ?

हाम्रो सन्देश संवाददाता

काठमाडौं, १९ बैशाख ।

प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल कम्युनिष्ट पार्टीको सचिवालय बैठकमा बुधबार एकाएक नेता वामदेव गौतमलाई प्रधानमन्त्री बनाउने प्रस्ताव राखेपछि सत्तारुढ दलभित्रको राजनीति तरंगित हुन पुगेको छ। यो प्रस्तावका दुई पक्ष छन् एक, प्रधानमन्त्री ओलीलाई देखाएरै अहिलेको उपलब्धि भएको हो भन्ने दाबी आफ्नै प्रस्तावले खण्डित गरेको छ। दुई, ओली शक्तिसंघर्ष बढ्दै गए पद छाड्न तयार हुन्छन्।

सत्तारुढ दलका शक्तिशाली अध्यक्ष ओलीले एकाएक आफू पदासिन रहेको प्रधानमन्त्री पद गौतमलाई दिने प्रस्तावलाई लिएर नेकपाभित्र विविध कोणबाट विमर्श भइरहेको छ। के यथार्थमै गौतमलाई यो पद दिन खोजिएको होरु प्रधानमन्त्री ओलीका कामकारबाही निकटबाट नियालीरहेका नेताहरु भन्छन्–यो प्रस्ताव विरोधी कित्तामा फुट ल्याउन गरिएको हो।

गौतमसँगै वरिष्ठ नेता एवं पूर्व प्रधानमन्त्री माधवकुमार नेपाललाई समेत तेस्रो अध्यक्ष बनाउने ओलीको प्रस्ताव थियो। ‘यो प्रस्तावको उद्देश्य नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाललाई अहिलेको ओलीविरोधी मोर्चाबाट एक्ल्याउनु हो,’ नेकपाका एक सचिवालय सदस्यले भने, ‘कामरेड गौतमलाई प्रधानमन्त्री र नेपाललाई तेस्रो अध्यक्ष भन्नासाथ पासा पल्टिहाल्छ भन्ने हो। स्थिति उहाँ (ओली)ले सोचेजस्तो छैन।’

ओलीको यो प्रस्ताव मानेर अहिले भएको मोर्चाबन्दी टुट्ने संकेत कसैले पनि गरेनन्। कुनै पदको सौदाबाजीले नेकपाभित्रको अहिलेको विवाद टुंगो लाग्दैन। बरु गौतमलाई प्रधानमन्त्रीका निम्ति प्रस्ताव गरिसकेपछि त्यसले ओली स्वयंलाई भने अप्ठ्यारोमा पार्नेछ। आजको नागरिक दैनिकमा प्रकाशित छ ।

हाम्रो सन्देशमा प्रकाशित कुनैपनि लेख वा सामग्रीबारे गुनासो तथा सुझाव भए [email protected] मा पठाउनु सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर र भाईबरमा पनि जोडिन सक्नुहुन्छ ।