लकडाउनमा मानसिक स्वास्थ्य कसरी उच्च राख्ने?

हाम्रो सन्देश संवाददाता

अहिले विश्वभरी नै लकडाउन छ। विश्वको ठूलो जनसंख्या अहिले घरभित्रै छ। यो समयमा मानिसको मानसिक स्वास्थ्यलाई बढिभन्दा बढि ख्याल गर्नुपर्ने हुन्छ। मानसिक स्वास्थ्य एकदमै व्यक्तिगत कुरा हो।

जसले लकडाउनलाई धेरैभन्दा धेरै सदुपयोग गरेको छ, उनीहरुमा लकडाउनका कारण मानसिक स्वास्थ्यमा असर पनि कम परेको छ। उनीहरुले आफ्नो रुचीमा ध्यान दिएर त्यहिअनुसारका क्रियाकलापहरु गरिरहेका छन्।

विगतमा व्यस्त जीवनका कारण परिवारलाई समय दिन नसकेकाहरुले अहिले परिवारसँग समय विताइरहेका छन्। लकडाउनलाई रचनात्मक ढंगमा सदुपयोग गर्नेहरुमा केही मात्रामा चिन्ता रहेता पनि त्यो अगन्य मान्न सकिन्छ। यो एउटा पक्ष भयो।

अर्को पक्ष भनेको मानिसहरुमा लकडाउन कै कारण फ्रन्ट लाईनमा काम गर्नेबाहेक सर्वसाधारणलाई कोरोना भाइरसको त्रास निकै कम छ। उनीहरु घरमै क्वारेन्टाइनमा बसेको हुँदा तत्कालै कोरोना भाइरस सरिहाल्ने डर हुँदैन। उनीहरुलाई डर भनेकै भोलिको दिनमा के होला भन्नै नै हो।

उनीहरुलाई जागिर नहुने, पारिश्रमिक नपाउने, केमा लगानी गर्ने? त्यसको भविष्य कस्तो हुन्छ? लगायतको डर भईरहेको हुन्छ। तर, फ्रन्ट लाइनमा काम गर्नेहरुलाई भने कोरोना भाइरसको समेत त्रास रहेको छ। यसबाहेक घरमा कोही बिरामी वा ज्येष्ठ नागरिक हुनुहुन्छ भने पनि उनीहरुका परिवार आत्तिएका छन्।

उनीहरुलाई अस्पताल लानु परे त्यहिँ पो रोग सर्ने हो की भन्ने चिन्ता रहेको छ। यससँगै कथमकदाचित कोरोना भाइरसले भयावह रुप लिएमा मैले उपचार पाउँछु वा पाउँदिन भन्ने खालको चिन्ता पनि उनीहरुमा रहेको हुन्छ।

त्यस्तै, बैंकबाट लोन लिने मानिसहरुको संख्या धेरै छ। उनीहरुले घर, जग्गा, कारोबारलगायतका कामहरुका लागि बैंकबाट लोन लिएका हुन्छन्। त्यस्ता व्यक्तिहरुमा काम नभए कसरी तिर्ने, बैंकले के सहुलियत दिन्छ, आर्थिक मन्दी भयो भने कसरी बेहोर्नेलगायतका प्रश्नहरु मनमस्तिष्कमा खेलाएका हुन्छन्।

यसलाई राष्ट्रको अर्थतन्त्रसँग जोडेर हेर्दा पनि आर्थिक मन्दी हुन नदिन सर्वसाधारणलाई व्यक्तिगत रुपमा केही गर्न सक्दिन भन्ने कुरा थाहा छ। जसले उनीहरुलाई अझ बढी असहाय जस्तो बनाएको छ।

यससँगै पहिलेदेखि नै मानसिक समस्या रहेका मानिसहरुमा यसले अलि बढी आक्रामक बनाएको हुन्छ। किनभने विगतमा यसको नियन्त्रणका लागि उनीहरुले साथीभाइसँग भेट गर्ने, बाहिर जानेलगायतका विधिहरुबाट मानसिक रोगलाई नियन्त्रण गरिरहेका थिए भने अहिले त्यो सम्भव छैन। लकडाउनले समाजसँग घुलमिल हुनुपर्ने जुन प्रकारको जैविक आवश्यकता थियो, त्यसलाई संकुचित बनाई अलि बढी आइसोलेटेड अनुभव गराएको छ। त्यसै कारण पनि हाल धेरै मानिसको मानसिक स्वास्थ्यमा असर परेको छ।

बच्चाहरुलाई कसरी सम्हाल्ने, के कुरामा भुलाउनेलगायतका समस्याहरु पनि अहिले आइरहेका छन्। उनीहरु हाल टिभी, इन्टरनेट, गेममा मात्र ध्यान दिएर दिन बिताइरहेका हुन्छन्। नहेर, नखेल भनेर पनि के गराउने, कहाँ लानेलगायतका कुराहरुले अभिभावकलाई चिन्तित बनाएको छ। बच्चाहरु आफै पनि एकै ठाउँमा बस्नु पर्दा स्वभावमा परिवर्तन आउने गरेको छ।

कुन उमेर समूहलाई यसको बढी असर परेको छ?

यसको असरको विषयमा थ्याकै यही उमेर समुहलाई भनेर भन्न सकिने अवस्था छैन। किन भने सबैलाई भिन्नाभिन्नै प्रकारले असर परिनै रहेको हुन्छ। जस्तै नेपालका धेरै जसो परिवारका कुनै न कुनै सदस्य विदेश गएका छन्।

यसले विदेशमा रहेको मानिसको परिवारले के सोच्छ भने म त घरमा सुरक्षित नै छु, तर धेरै देशहरुमा पूर्ण रुपमा लकडाउन छैन। यो अवस्थामा उनीहरु काममा गईरहेको हुनाले उनका परिवारहरु आत्तिरहेका छन् भने अत्यधिक मात्रामा समाचारहरु हेर्नेहरुमा पनि मानसिक तनाव भएको पाईन्छ।

त्यस कारण हरेक उमेरका मानिसहरुमा यसको असर परेको छ। सबैलाई आ–आफ्नो किसिमको व्यक्तिगत तनाव छ। कोही मानिसले कहिँ लगानी गरेपछि लगानी डुब्ने हो की भन्ने तनाव विगतमा पनि हुने भएपनि उनीहरुले बिकल्पहरु पनि सोचेको हुन्थ्यो भने अहिलेको अवस्थामा बिकल्प समेत काम नलाग्ने अवस्था सिर्जना भएको छ।

तसर्थ उनीहरुलाई त्यसप्रतिको जोखिम तीन सय प्रतिशतले बढ्छ। तसर्थ यस्तो प्रकारको मानसिक तनाव कोरोना भाइरसको तुलनामा निकै बढी छ।

लकडाउनपछि पनि कस्तो प्रकारको समस्या आउनसक्छ?

लकडाउनपछि सर्वप्रथम आउन सक्ने समस्या भनेकै कतिपय मानिसहरुमा लक्षणबिना पनि कोरोना भाइरसको संक्रमण देखिएको हुँदा कोही मानिसको सम्पर्कमा आउन अलि हिचकिचाहट हुनसक्छ। दूरी कायम नराखे फेरी पनि कोरोना सर्न सक्ने हुँदा मानिसहरुमा बाहिर हिँडडुल गर्दा पनि एकखालको त्रास भईने हुनसक्छ।

यस्तो समस्यालाई प्राकृतिक रुपमै लिन सकिन्छ। कसैलाई हेरेरै मात्र कसलाई के रोग छ भनेर थाहा पाउन पनि सकिँदैन र नेपालको सन्दर्भमा सबैलाई कोरोना परिक्षण गरेर पूर्ण रुपमा कोरोनाको केसहरु नभएको भन्न पनि सम्भव छैन। तसर्थ यस्ता समस्याहरुले नै पछि गएर मानसिक स्वास्थ्यमा असर पर्ने भएर यसतर्फ पनि सबैले ध्यान दिन जरुरी छ।

यसलाई ध्यान नदिने हो भने भविष्यमा मानसिक स्वास्थ्यमा असर परि डिप्रेसन, इन्जाइटीलगायतका मानसिक रोगका बिरामीहरु बढ्न सक्ने विभिन्न अध्ययनहरुले देखाएको छ। किनभने हालसम्म पनि हाम्रो समाजमा मानसिक रोग भएको कुरा सहजै स्वीकार्न सकेको छैन।

जसरी ग्यास्ट्राइटिक्स, मधुमेह, उच्च रक्तचाप, थाइराइडलगायतका रोगहरुको विषयमा मानिसहरु सहजै कुरा गर्छन्, मानसिक रोगको विषयमा त्यत्ति सहजता देखिँदैन। यदी कोही मानिस मानसिक रोगको औषधि सेवन गरिरहेको छ भने उसले सहजै अरु सामु यो कुरा खुलाउन चाहँदैन। यस्तो अवस्थामा यस विषयतर्फ मानिसहरु अझ बढी सतर्क हुन जरुरी छ।

अध्ययनहरुले देखाए झैँ यसले भयावह रुप नै लिन्छ भन्ने पनि होइन, तर जसरी २०७२ सालको विनासकारी भूकम्पका कारण धेरै मानिसहरुको मस्तिष्कमा असर परेको थियो र अहिले पनि सो रोगबाट गुज्रिरहेका छन्, उनीहरुलाई अझ यसको प्रभाव बढी परेको छ।

यसबाट सबैले आफू कसरी बच्न सकिन्छ भन्ने कुराहरुमा भने जानकार हुन जरुरी छ। किनभने भविष्यमा मानसिक रोगका बिरामीहरु बढ्न सक्ने सम्भावना बढी छ। जसलाई हामी बेवास्ता गर्न मिल्दैन।

मानसिक रोगबाट बच्न के–के उपाय अपनाउन सकिन्छ?

पहिलो कुरा त सबैले यसबाट त्रसित हुन कम गर्नुपर्छ। किनभने यो कुनै योजनावद्धरुपमा ल्याइएको होइन। साथै के कुरा पनि सोच्न जरुरी छ भने यो विश्वव्यापी नै फैलिएको छ, केवल नेपालमा मात्र यो समस्या आएको होइन। यसबाहेक हामी व्यक्तिगत रुपमै सबै यस समस्यबाट ग्रसित छौँ भन्ने कुरा पनि बुझ्न जरुरी छ।

एउटै कुरालाई धेरै सोचिरहँदा पनि मानसिक स्वास्थ्यमा यसले असर पारेको हुन्छ। यसको प्रभाव मलाई पनि परेको छ, तपाईलाई पनि परेको छ। यसबाट कोही पनि अछुतो छैन भन्ने कुरालाई स्वीकार गर्नुका साथै आफूलाई के कुराले प्रभाव पारेको छ भन्ने कुरालाई बुझेर त्यसको निराकरणको उपायहरु अपनाउने।

कतिपय अवस्थामा आफूलाई के कुराले प्रभाव पारेको भन्ने कुराहरु थाहा पाउन नसक्दा डिप्रेसन हुने, अन्य स्वास्थ्य समस्या निम्तने, व्यवहार पविर्तन हुने, झर्को लाग्ने, सानो कुरामा पनि रिस उठ्नेलगायतका समस्याहरु उत्पन्न हुने गर्दछन्। तसर्थ सर्वप्रथम आफूलाई प्रभाव पारेको कुरालाई नै पत्ता लगाउन जरुरी छ।

कथमकदाचित पत्ता लगाउन नसकेको अवस्थामा मनोवैज्ञानिकहरुसँग परामर्स लिने, साथीभाइसँग कुरा गर्ने, रुची लाग्ने कामहरु गर्ने, योग, व्यायाम, खाना पकाउने, पेन्टिङलगायतका कामहरु गरेर समयको सदुपयोग गर्ने हो भने केही हदसम्म मानसिक स्वास्थ्यलाई बलियो बनाउन सकिन्छ।

(ढुंगाना मनोबिमर्शकर्ता हुन्। यो लेख कुराकानीका आधारमा तयार पारिएको हो।)

फोटो फिरिममा मेल भर्जन सुनिल लिम्बुको स्वरमा भिडियो सार्बजनिक (भिडियो हेर्नुस)

तपाईको समाचार, लेख /रचना वा सुझाव र प्रतिक्रिया भएमा [email protected] मा पठाउनुहोला ।