कोरोना संक्रणबाट मुक्त भएर अस्पतालबाट डिस्चार्ज हुँदै गर्दा यसरी खुसी व्यक्त

हाम्रो सन्देश संवाददाता

काठमाडौँ , ७ वैशाख ।

कोरोना संक्रमणको उपचार गराइरहेका बाग्लुङकी ६५ वर्षीया महिला र काठमाण्डौंकी १९ वर्षीया युवतीले कोरोनालाई आफूले जित्न सफल भएको भन्दै खुसी व्यक्त गरेका छन् ।

गत चैत ४ गते फ्रान्सबाट कतारको दोहामा ट्रान्जिट हुँदै नेपाल आएकी थिइन् बाग्लुङकी ६५ वर्षीया महिला । उनलाई चैत २० गते कोरोना संक्रमण भएको पृष्टि भएको थियो । ६५ वर्षीया ती बृद्धाले शनिबार बेलुका धौलागिरी अस्पताल बाग्लुङबाट डिस्चार्ज हुँदै गर्दा कोरोनालाई जित्नका लागि गरिएको प्रयास सबैलाई बताएर उदाहरणीय समेत बनेकी छन् ।

डिस्चार्ज हुने क्रममा संचारकर्मीहरुसँग कुरा गर्दै आफूले कोरोनालाई जित्छु भन्ने अठोट मनमा लिएको, त्यसका लागि दैनिक ५ लिटरभन्दा बढी तातो पानी पिएको, दालभात, तरकारी दूध लगायतका खानेकुरा खाएको बताएकी छन् ।

नेपालमा छैटौ कोरोना संक्रमितको रुपमा रहेकी उनले अस्पतालका चिकित्सक तथा स्वास्थ्यकर्मीलाई पनि धन्यवाद दिएकी छन् । ‘गर्न सक्ने सेवा गर्नु भयो, हाम्रै आफ्नै अस्पतालमा बसियो, सवैले सेवा पुर्याउनु भयो म सबैलाई धन्यवाद दिन्छु । ’ उनले डिस्चार्ज हुँदै गर्दा भनेकी थिइन् ।

उच्च रक्तचाप र दमको समेत विरामी रहेकी उनले कोरोनालाई जित्न गरेको अदम्य साहस र उदाहरणले नेपालमा कोरोनाको भयावह भइहाले पनि यसलाई सजिलै परास्त गर्न सकिन्छ भन्ने सबैका सामु उदाहरणीय बनेकी छन् उनी । प्रेस र दमकी दिर्घ रोगी उनले कोरोनालाई जित्न गरिएको प्रयास र साहस सुनाइरहँदा अन्य अस्पतलामा कोरोना संक्रमिणको उपचार गराइरहेका विरामीलाई पनि कोरोनालाई सजिलै जित्न सकिन्छ भन्ने उच्च मनोबल बढेको छ । उनलाई दुईपटकसम्मको रिर्पोट नेगेटिभ आएपछि अस्पतालले डिस्चार्ज गरेको हो ।

त्यसैगरी चैत ४ गते नै फ्रान्सबाट आएकी काठमाण्डौंकी १९ वर्षीया युवती २७ दिनको अस्पताल बसाईएपछि शनिबारै घर फर्किएकी छन् । उनीमा चैत ९ गते कोरोना संक्रमण देखिएको थियो ।

कोरोना संक्रमणको संका लागेर घरमै सेल्फ आइसोलेसनमा बसेकी उनी आफै जाँचगर्न टेकु अस्पताल पुगेकी थिइन् । पछि जाँचको रिर्पोट पोजेटिभ देखिएपछि शुक्रराज ट्रपिकल सरुवा रोगको आइसोलेसनमा राखेर उनको उपचार गरिएको थियो । उनी नेपालमा कोरोना संक्रमण देखिने दोश्रो व्यक्ति हुन् । उनी भन्दा पहिले चीनबाट आएका एक विद्यार्थीमा कोरोना संक्रमण देखिएको र उनी निको भएर यतिबेला आफनो दैनिक जीवनमा फर्किइसकेका छन् ।

शनिबार अस्पतालबाट डिस्चार्ज भएर फर्कदै गर्दा ती युवतीले फ्रान्सबाट घर आइपुगेको चौथो दिनमा भियतनामी साथिले आफूमा कोभिड १९ पोजेटिभ भएको भनेपछि आफूले पनि टेष्ट गराएको बताएकी थिइन् । उनले अस्पतालमा उपचारका क्रममा चिकित्सक तथा स्वास्थ्यकर्मीले आफ्नो पेशाको धर्म मात्र निभाएको नभई व्यक्तिगत रुपमा पनि ‘ठिक हुन्छौ’ भनेर मनोबल बढाएको संचारमाध्यमलाई बताउँदै सवैमा धन्यवाद व्यक्त समेत गरेकी छन् ।

उनले संक्रमण हुँदाको अवस्थामा सास फेर्न गाह्रो, पेटमा दुखाई, एकदमै बढी खोकी लाग्ने गरेको बताएकी थिइन् । यतिबेला देशभरीका धेरै कोरोनाका लक्षण भएकाहरुले आफूले जस्तै आइसोलेसनको सुविधा नपाइरहेको अवस्था रहेकोले उनीहरुसम्म यो सुविधा पुर्याउन उनले सरकार समक्ष अनुरोध पनि गरेकी थिइन् ।

सेल्फ आइसोलेसन एकदमै आवस्यकता रहेको बताउँदै विदेशबाट आएका र शंका लागेकाले टेष्ट गर्ने र सेल्फ आइसोलेसनमा बसिदिन समेत अनुरोध गरेकी छन् ।

उनले कोरोना संक्रमणबाट बच्नका लागि माक्स, पन्जा लगाउने र सरकारले दिएको गाइडलाइन फलो गर्न सबैलाई अनुरोध गरेकी छन् ।
उनले अन्य संक्रमित विरामीलाई छिटो निको हुनका लागि धैर्यताका साथ बस्न, नआत्तिन पनि सुझाव दिएकी छन् । कोरोनाको लक्षणहरु नै अलि अत्याउने भएकाले आत्मबल उच्च बनाउन पनि सल्लाह दिएकी छन् ।

उनले आफ्नो प्लाजामामा एन्टिबडी बढी भएकोले दान गर्न पाइरहेको बताउँदै भविष्यमा कोही संक्रमित गम्भीर भएमा यसले सहयोग गरोस् भन्ने समेत बताएकी थिइन् ।

प्रधानमन्त्रीले गरे स्वास्थ्यलाभको कामना
प्रधानमन्त्री केपी शर्मा ओलीले शनिबार कोरोना संक्रमणबाट मुक्त भएर घर फर्किएका दुवैजनालाई स्वास्थ्य लाभको कामना गरेका छन् ।
बाग्लुङकी ६५ वर्षीया वृद्धाको बेजोडको आत्मविश्वास कारण उनीसँग कोरोना पराजित भएको भन्दै उनको दीर्घायुको कामना गर्दै दुवैजनाको उपचारमा संलग्न चिकित्सक तथा स्वास्थ्यकर्मी तथा सम्बद्ध सबैमा धन्यवाद ज्ञापन गरेका छन् ।

हाम्रो सन्देशमा प्रकाशित कुनैपनि लेख वा सामग्रीबारे गुनासो तथा सुझाव भए [email protected] मा पठाउनु सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर र भाईबरमा पनि जोडिन सक्नुहुन्छ ।