नेपाल प्रहरी पेट्रोल भन्दै पानी बेच्दै

हाम्रो सन्देश संवाददाता

काठमाडौँ , ७ वैशाख ।

नेपाल प्रहरीको पेट्रोल पम्पमा पानी मिसिएको पेट्रोल भेटिएको छ । काठमाडौंको सामाखुसीस्थित महालक्ष्मी पेट्रोल पम्पमा पानी भेटिएको हो ।

पेट्रोलमा पानी मिसिएर आएको पाइए पछि छानबिन सुरु गरिएको नेपाल आयल निगमले जनाएको छ । पेट्रोल वितरण गर्ने बेला पानी मिसिएको पाइए पछि अनुसन्धान थालिएको नेपाल आयल निगम थानकोट वितरण डिपो प्रमुख इन्जिनियर प्रदीपकुमार यादवले जानकारी दिए ।

उनकाअनुसार पम्पमा शुक्रबार साँझ ८ हजार लिटर पेट्रोल हालिएको थियो । निगमको प्राविधिकसहितको टोलीले अहिले ४८ हजार लिटर क्षमताको पम्पको जाँच गरिरहेको उनले बताए । ग्राहकलाई पेट्रोलियम वितरण गर्नुपूर्व पम्पका कर्मचारीले जर्किनमा भरेको पेट्रोलमा पानी पाइएको थियो ।

पम्पमा पानी मिसिएको पेट्रोल पाइएकोबारे जानकारीमा आएको र निगमले छानबिन गरिहेको नेपाल आयल निगमका कार्यकारी निर्देशक सुरेन्द्र पौडेलले अनलाइनखबरलाई बताए ।

‘एउटै ट्याकंरबाट तीन पम्पमा पेट्रोल वितरण गरिएको थियो तर अन्त समस्या छैन प्रहरीकोमा कसरी कैफियत देखियो, हामी छानबिन गर्दै छौँ, उनले भने ।

हाम्रो सन्देशमा प्रकाशित कुनैपनि लेख वा सामग्रीबारे गुनासो तथा सुझाव भए [email protected] मा पठाउनु सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर र भाईबरमा पनि जोडिन सक्नुहुन्छ ।