नेपालमा एकैदिन थपिए १४ कोरोना संक्रमित

हाम्रो सन्देश संवाददाता

वैशाख,५ काठमाडौँ ।

नेपालमा थप १४ जना कोरोना भाइरस संक्रमित भेटिएका छन्।

शुक्रबार उदयपुरमा १२ र चितवनमा दुई जनामा कोरोनाको संक्रमण भेटिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका विज्ञ सल्लाहकार डा. खेम कार्कीले जानकारी दिए। राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा उनीहरुमा कोरोना पोजेटिभ देखिएको डा. कार्कीले बताए।

उदयपुरमा भेटिएका १२ जना संक्रमितमध्ये केही भारतीय नागरिक रहेको छन्। यस्तै, चितवनबाट ल्याइएका दुई वटा स्वाबको रिपोर्ट पनि पोजेटिभ आएको छ। चितवनको राप्ती नगरपालिका–८ का कोरोना संक्रमित आमाछोरा रहेको र उनीहरु चैत ३ गतेमात्रै बेलायतबाट फर्किएका हुन्। योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ३० पुगेको छ।

यसअघि १६ जना कोरोनाका संक्रमित भेटिएका थिए। उनीहरूमध्ये टेकु र पाटन अस्पतालमा दुई-दुई जना, धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा पाँच जना, बागलुङ अस्पतालमा दुई तथा वीरगञ्ज अस्पतालमा चार जनाको उपचार भइरहेको छ भने कोरोनाको पहिलो संक्रमित युवक निको भएर घर फर्किसकेका छन्।

हेर्नुहोस भिडियोमा

हाम्रो सन्देशमा प्रकाशित कुनैपनि लेख वा सामग्रीबारे गुनासो तथा सुझाव भए [email protected] मा पठाउनु सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर र भाईबरमा पनि जोडिन सक्नुहुन्छ ।