लक डाउनमा कडाई : सडकमा हिँड्नेलाई प’क्राउ गरेर मु’द्दा चलाउने

हाम्रो सन्देश संवाददाता

वैशाख,४ काठमाडौँ ।

सहरमा गुजारा चलाउन समस्या परेपछि हिँडेरै गृहजिल्ला फर्किन लागेका सर्वसाधारणलाई प्रहरीले प’क्राउ गरेर मु’द्दा चलाउने भएको छ । कोरोना संक्रमण नियन्त्रण तथा रोकथाम उच्चस्तरीय समन्वय समितिको बुधबारको बैठकले बिहीबारदेखि राजमार्गमा हिँड्नेलाई पक्राउ गर्न गृह प्रशासनलाई निर्देशन दिएको हो ।

‘लकडाउन भनेको हिँडेर जान पाइने भन्ने होइन,’ समितिका प्रवक्ता नारायणप्रसाद बिडारीले भने, ‘अहिले ठूलो संख्यामा मान्छे हिँडेरै विभिन्न जिल्लामा गइरहेको पाइएको छ, यसबाट जोखिम बढेकाले पक्राउ गरेर संक्रामक रोग ऐनको दफा २२ अनुसार मुद्दा चलाउन नै निर्देशन भएको छ ।’ पछिल्ला केही दिन संक्रमणको दर फैलिएसँगै जोखिम बढेको भन्दै लकडाउनलाई थप कडाइ गर्न लागिएको हो ।

उपत्यकालगायत विभिन्न ठाउँबाट खासगरी मजदुरहरू कैयौँ दिन हिँडेर घर फर्किरहेका छन् । काम बन्द भएसँगै खानै समस्या भएकाले जोखिम र कष्ट व्यहोरेरै गाउँ जान बाध्य हुनुपरेको उनीहरूको गुनासो छ । हिँडेर घर फर्किन पूर्ण रूपमा रोकेसँगै गाँसको व्यवस्था नगर्ने हो भने सहरी क्षेत्रमा धेरै मजदुर भोकभोकै रहने अवस्था रहन्छ ।

समितिले खाद्यान्न पसलहरूमा हुने भीडबाट समेत जोखिम रहेको भन्दै त्यसतर्फ पनि ध्यान दिन गृह मन्त्रालयलाई निर्देशन दिएको छ । लकडाउन पालना नगर्ने अन्यलाई पनि मुद्दा चलाउन भनेको छ । लकडाउन कडाइ गर्ने क्रममा प्रशासनले परिवारभित्रै भएको मृत्युमा मलामी जानबाहेक पास दिनसमेत बन्द गरेको छ ।

परीक्षणलाई तीव्रता दिइने

उच्चस्तरीय समिति बैठकले संक्रमणको जोखिम बढ्दै गएको निष्कर्ष निकाल्दै परीक्षण, पहिचान र उपचारलाई प्रभावकारी बनाउने निर्णय पनि गरेको छ । केही दिनयता नयाँ केस देखिएकाले परीक्षणलाई देशैभरि तीव्रता दिने निर्णय भएको सचिव बिडारीले बताए ।

त्यस्तै, त्रिभुवन विश्वविद्यालयमा रहेको पिसिआर मेसिन प्रदेश २ लाई दिने निर्णय गरिएको छ । प्रदेश २ मा पछिल्लो समय संक्रमणको जोखिम बढेको तथा प्रदेशले मेसिन मागेकाले दिन लागिएको हो ।
बैठकले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय उडान १८ वैशाखसम्म रोक्ने निर्णय गरेको छ । त्यस्तै, नारायणी अस्पताललाई कोरोना उपचारका लागि डेडिकेटेड अस्पताल बनाउने निर्णय पनि गरेको छ । हाल सो अस्पतालमा कोरोना संक्रमित चार बिरामी छन् ।

अफगानिस्तानबाट राष्ट्रसंघमा कार्यरत नागरिक ल्याइने

सरकारले अफगानिस्तानमा संयुक्त राष्ट्रसंघअन्तर्गतका निकायमा कार्यरत नेपालीलाई चार्टर्ड विमानमार्फत स्वदेश ल्याउने भएको छ । राष्ट्रसंघले नै त्यसबारे पत्राचार गरेको उच्चस्तरीय समिति सचिव बिडारीले बताए । उद्धार खर्च भने सम्बन्धित व्यक्तिबाटै हुने र समन्वय मात्र सरकारले गर्न लागेको उनले बताए । अफगानिस्तानमा जोखिम बढेपछि उनीहरूलाई नेपाल ल्याउन लागिएको हो । अफगानिस्तानमा राष्ट्रसंघअन्तर्गत ६२ नेपाली छन् । कोरोना संक्रमण बढेको र उपचारको कुनै सुविधा नभएकाले राष्ट्रसंघले सबै विदेशी कर्मचारीलाई सम्बन्धित देशमा फर्काउन थालेको छ ।

सरकारले चीनसँग जिटुजी प्रक्रियाबाट स्वास्थ्य सामग्री किन्ने

सरकारले चीनसँग गभर्नमेन्ट टु गभर्नमेन्ट (जिटुजी) प्रक्रियाबाट स्वास्थ्य सामग्री किन्ने निर्णय गरेको छ । यसबारे स्वास्थ्य तथा परराष्ट्र मन्त्रालयका अधिकारीले बुधबार चिनियाँ अधिकारीसँग तीनपटक भिडियो कन्फ्रेन्स गरेका छन् ।

भिडियो कन्फ्रेन्समा चिनियाँ पक्षले आवश्यक सामानहरू बुधबारभित्रै टुंगो लगाउन आग्रह गरेको थियो । ‘भोलि अन्तबाट पनि माग हुन्छ, मूल्य हेरफेर पनि हुन सक्छ, त्यसकारण आज नै फाइनल गरौँ भन्ने उहाँहरूको भनाइ थियो,’ बैठकमा सहभागी एक अधिकारीले भने । सरकारकै नियन्त्रणमा रहेको एक कम्पनीबाट लागत मूल्यमै स्वास्थ्य सामग्री दिन चीन तयार भएको उनले बताए । यस्तै, कोरोना संक्रमण नियन्त्रण तथा रोकथाम उच्चस्तरीय समन्वय समितिको बुधबारको बैठकले पनि चीनसँग जिटुजी प्रक्रियाबाटै खरिद गर्ने निर्णय गरेको छ ।, समाचार नयाँ पत्रिका दैनिकमा प्रकाशित छ ।

हाम्रो सन्देशमा प्रकाशित कुनैपनि लेख वा सामग्रीबारे गुनासो तथा सुझाव भए [email protected] मा पठाउनु सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर र भाईबरमा पनि जोडिन सक्नुहुन्छ ।