संक्रमितसग सम्पर्कमा रहेका २२ भारतीय नागरिक वीरगञ्जको क्वारेन्टाइनमा

हाम्रो सन्देश संवाददाता

काठमाडाैं,३० चैत्र ।

पर्साको वीरगञ्जमा तीन जना भारतीय नागरिकमा कोरोना संक्रमण पुष्टि भए सगै उनीहरुसँग प्रत्यक्ष सम्पर्कमा रहेकाहरुलाई क्वारेन्टाइनमा राखिएको छ ।

वीरगञ्ज–२ छपकैया घुसुकपुरस्थित हजरत बिलाल मस्जिदबाट १० जना जमाती, तीन जना मौलाना र २ जना स्थानीयलाई र छपकैयाकै मक्की जामे मस्जिदबाट ११ जनालाई नियन्त्रणमा लिएर क्वारेन्टाइनमा राखिएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक वीरेन्द्र शाहीले जानकारी दिएका छन । ‘वीरगञ्जको छपकैया क्षेत्रमा रहेका मस्जिदबाट २६ जनालाई क्वारेन्टाइनमा राखेका छौं’ उनले भने ‘२१ जनाको थ्रोट स्वाब संकलन भइसकेको छ, बाँकी पाँच जनाको स्वाब लिन बाँकी छ ।’

छपकैया र घुसुकपुरका मस्जिदमा रहेका २६ जनालाई शनिबार राति सिद्धार्थ माध्यमिक विद्यालयको क्वारेन्टाइनमा राखिएको प्रहरिले बताएको छ । क्वारेन्टाइनमा पठाएकामध्ये ४ जना नेपाली र २२ भारतीय नागरिक रहेका छन ।क्वारेन्टाइनमा राखिने हरुमा तीन जना मुस्लिम धर्म गुरु र दुई जना स्थानीय पनि छन ।

संक्रमण पुष्टि भएका तीन जना भारतीय नागरिकमध्ये २ जना उत्तरप्रदेश र एक जना दिल्लीमा बस्दै आएका थिए । उनीहरु १३ दिनदेखि वीरगञ्ज–२ छपकैयास्थित जामे मस्जिदमा आएको स्थानीयले बताएका छन् ।

सप्तरीमा आयोजित मुस्लिम धार्मिक सभामा सहभागी हुन आएका उनीहरु त्यही बेलादेखि भारत फर्केका छैनन् । मार्च ४ तारिकमा रिटर्न ट्रेन टिकेट भए पनि लकडाउनका कारण उनीहरु रोकिएका थिए ।

हाम्रो सन्देशमा प्रकाशित कुनैपनि लेख वा सामग्रीबारे गुनासो तथा सुझाव भए [email protected] मा पठाउनु सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर र भाईबरमा पनि जोडिन सक्नुहुन्छ ।