भारतमा भयानक हुदै कोरोना भाइरस, संक्रमितको संख्या ६ हजार नाघ्यो

हाम्रो सन्देश संवाददाता

काठमाडाैं,२८ चैत्र ।

भारतमा कोरोना भाइरसको संक्रमण झन भयानक हुने संकेत देखिएको छ । यस भाइरसबाट बिहीबार साँझसम्म यहाँ मृत्यु हुनेको संख्या दुई सय २७ पुगेको छ । जोन्स हप्किन्स युनिभर्सिटीको तथ्यांकअनुसार यो संख्या रहेको छ । त्यसैगरी उक्त विश्वविद्यालयको तथ्यांकले भारतमा भाइरसबाट संक्रमित हुने मानिसको समग्र संख्या छ हजार सात सय २५ पुगेको देखाएको छ ।

कोरोना भाइरसको महामारी पछिल्लो केही दिनयता भारतमा बढ्दो क्रममा देखिएको छ । अहिलेसम्म भारतका २८ राज्यमा यो भाइरसका संक्रमित देखिएका छन् । सबैभन्दा बढी भारतको महाराष्टमा देखिएको छ । मुम्बइमा यसबाट ज्यान जानेको संख्या बढ्दो मात्रामा देखिएको छ ।

महाराष्ट्रमा अहिलेसम्म एक हजार तीन सय ६४ संक्रमित भेटिएका छन । साथै ९८ जनाको मृत्यु पनि भइसकेको छ । त्यस्तै तामिलनाडुमा अहिलेसम्म आठ सय २४ जना मानिस यो भाइरसबाट संक्रमित भइसकेका छन् । तामिलनाडुमा भाइरसबाट मृत्यु हुनेको संख्या आठ पुगेको छ । दिल्ली र तेलंगानामा भाइरसबाट मृत्यु हुनेको संख्या १२ पुगेको छ । दिल्लीमा सात सय २० संक्रमित फेला परेका छन् भने तेलंगानामा संक्रमितको संख्या चार सय ७१ पुगेको छ ।

मध्यप्रदेशमा अहिलेसम्म संक्रमितको संख्या चार सय ११ पुगेको छ । तर, यो राज्यमा मृत्यु हुने मानिसको संख्या भने ३३ पुगिसकेको छ । अहिलेसम्म भारतमा छ सय २० संक्रमित निको भएका छन् ।

हाम्रो सन्देशमा प्रकाशित कुनैपनि लेख वा सामग्रीबारे गुनासो तथा सुझाव भए [email protected] मा पठाउनु सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर र भाईबरमा पनि जोडिन सक्नुहुन्छ ।