लकडाउनमा मजदुरको पिडा : खानेकुरा सकियो, आफ्नै देशमा अलपत्र भयौँ

हाम्रो सन्देश संवाददाता

काठमाडाैं,२८ चैत्र ।

कैलालीको भजनी गाउँपालिकाका विक्रम डँगौरा काठमाडौंबाट घर जान भनेर हिँडेको सात दिन भयो । बल्लतल्ल बुधबार दाङको भालुवाङ आइपुुगेका उनलाई घर पुग्न अझै उत्तिकै लामो बाटो पार गर्नु छ । लामो हिँडाइले उनका खुट्टा सुन्निएको पीडा त छ नै, झोलामा खानलाई राखेको चिउरा पनि सकिएको छ ।

विक्रमसँगै भेटिएका बर्दियाकै बारबर्दिया गाउँपालिकाका ६० वर्षीय सूर्यप्रसाद रिजाल पनि तनहुँबाट पाँच दिन लामो बाटो पार गरेर बल्लतल्ल भालुवाङसम्म आइपुगेका छन् । दिनरात गरी करिब १८ घन्टा हिँँडेर उनीहरू घर पुग्ने आधा बाटो छिचोल्न सफल भएका हुन् ।

विक्रम र सूर्य एक महिनाअघि मात्र घर खर्च चलाउने पैसा जुटाउन भनी क्रमशः काठमाडौंको सामाखुसीमा घर र तनहुँमा कुलो बनाउने कामका लागि गएका थिए । तर, घर खर्च चलाउने भनी पैसा कमाउन हिँडेका उनीहरू लकडाउनका कारण आफैँ घरसम्म पुग्न सकिरहेका छैनन् ।

बिरानो ठाउँमा खाने अन्न नभएपछि बाध्यतावश कोसौँ टाढाको घर पुगे बाँच्न सकिने आशामा हिँडेका उनीहरू अलपत्र अवस्थामा छन् । सरकारले लकडाउन घोषणा गरेसँगै कमाइको बाटो त बन्द भयो नै, पेट भर्ने मेसो पनि बन्द भएको उनीहरू बताउँछन् । ‘भारतीय ठेकेदार थियो, ऊ भागेर हिँड्यो । केही दिनलाई पुग्ने चामल थियो । त्यसले पुग्नेसम्म बस्यौँ । त्यसपछि दिने कोही पनि भएन,’ डँगौराले भने, ‘भोकै मर्नुभन्दा हिँडेरै भए पनि पुगिन्छ कि भनेर हिँडेको हो । तर, यहाँ आएर अलपत्र परियो ।’

घर फर्किएका सयौँ मजदुर राजमार्गमा अलपत्र

पूर्व–पश्चिम राजमार्गमा लकडाउन घोषणा गरिएको केही दिनपछि पैदल यात्रा गरेर घर पुग्न खोज्नेहरू दिनहुँ सयौँको संख्यामा भेटिने गरेका छन् । राज्यले उनीहरूलाई हिँडेर घरसम्म पुग्न सकिने छुट दिएको छ, तर सवारीसाधनमा जान दिएको छैन । दिनभरि पिच सडकमा हिँडेर भए पनि आफ्नै घर पुग्न खोज्ने प्रायः ती मजदुरको प्रश्न छ– ‘हिँडेर भोकै भए पनि जाऊ भन्ने, तर सवारीसाधनमा पुर्‍याउन नसकिने यो कस्तो खालको सरुवारोग हो रु यो उखरमाउलो गर्मीमा हामीजस्ता सयौँ नागरिक सडकमा भोकै हिँडिरहँदा मन नपोल्ने यो कस्तो सरकार हो रु’ यसरी अलपत्र पर्नेहरूमा रोजगारीका लागि दैनिक ज्यालामा काम गर्ने मजदुर छन् ।

सरकारले लकडाउन घोषणा गरेसँगै आफूले काम गर्ने स्थानमा खान पाउने अवस्था नभएपछि घर जान भनी हिँडेका सयौँ यात्रु पूर्व–पश्चिम राजमार्गमा भेटिन्छन् । भालुवाङमा भेटिएकी पाल्पाबाट चार दिनअघि घर जान भनेर हिँडेकी कैलालीकी शारदा सुनारले राजमार्गमा आफूहरूजस्तै सयौँ यात्रु अलपत्र अवस्थामा रहेको बताइन् । ‘यो गर्मीमा पिच सडकमा हिँड्नुपर्दा कैयन् मजदुर बाटोमै बिरामी परेका छन् । भोकै, चिउराको भरमा हिँडेका छन् । किनकि उनीहरूसँग अरू विकल्प पनि छैन,’ उनले भनिन्, ‘राज्यले सबैलाई एउटै व्यवहार नगरिदिए हुन्थ्यो । कोरोनाले के गर्ला भन्न सकिन्न, तर यो गर्मीमा यही अवस्थामा हिँड्नुपरे कैयन्ले बाटोमै ज्यान गुमाउनुपर्ने हुन सक्छ ।’ यसरी राजमार्ग हिँड्नेहरूमध्ये ज्येष्ठ नागरिकको अवस्था अत्यन्त कठिन भएको उनको भनाइ छ ।

दाङका प्रदेश सभा सदस्य इन्द्रजित चौधरीले राज्यले बाटोमा अलपत्र परेका यात्रुलाई घरसम्म पुर्‍याउनुपर्ने बताए । ‘दाङमा मात्र सयौँको संख्यामा दैनिक मान्छेहरू आवतजावत गरेको हामीले जानकारी पाएका छौँ । लकडाउनले सबैलाई एकै किसिमको प्रभाव पार्दैन । भोको पेट मान्छे कसरी घरभित्र रहन सक्छ,’ उनले भने, ‘बिरानो ठाउँमा मजदुरीमा गएकालाई सरकारले हेर्न सकेको छैन । यस्तो अवस्थामा घर पुग्ने आशा गर्नु नाजायज होइन । राज्यले सडकमा अलपत्र परेकाहरूलाई घरसम्म पुर्‍याउने व्यवस्था गर्नुपर्छ ।’

खुवाउन सक्छौँ,पुर्याउन सक्दैनौँ : प्रशासन

दाङका प्रमुख जिल्ला अधिकारी गोविन्द रिजालले सरकारले लकडाउन घोषणा गरेको अवस्थामा यसरी आइपुगेको यात्रुका लागि आफूले केही गर्न नसक्ने बताए । यो एउटा जिल्लाको विषय मात्र नभएर समग्र देशकै भएकाले माथिबाट आउने आदेशबमोजिम नै आफूहरूले कार्यान्वयन गर्ने उनको भनाइ छ । यद्यपि जिल्लामा आइपुगेका यात्रुले चाहे खान र बस्ने व्यवस्था मिलाउन भने आफूहरू तयार रहेको रिजालले बताए । ‘यो अवस्थामा मजदुरसँग पैसा नभएर ठेकेदारले नै खुवाएर उनीहरू भएकै स्थानमा राख्नुपर्थ्यो । तर, आइसकेपछि हामीले पनि गर्न सकिने केही छैन । मजदुरहरूले चाहे खुवाउन र बसाल्न सक्छौँ,’ उनले भने, ‘योभन्दा बढी केही गर्न सकिँदैन ।, समाचार नयाँ पत्रिका दैनिकमा प्रकाशित छ ।

हाम्रो सन्देशमा प्रकाशित कुनैपनि लेख वा सामग्रीबारे गुनासो तथा सुझाव भए [email protected] मा पठाउनु सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर र भाईबरमा पनि जोडिन सक्नुहुन्छ ।