देशमा आउन चाहने नेपालीलाई नरोक्न सर्वोच्चको अन्तरिम आदेश

हाम्रो सन्देश संवाददाता

२५ चैत, काठमाण्डौं ।

सर्वोच्च अदालतले नेपाल-भारत सीमा र अन्य विदेशी मुलुकमा विपतमा परेर नेपाल आउन चाहने नेपालीलाई ल्याउन र ल्याउन नसके उनीहरूको खाने-बस्ने प्रबन्ध मिलाइदिन सरकारलाई आदेश गरेको छ।

हवाई सेवा बन्द हुँदा र भारतीय सिमामा नेपाली अलपत्र पर्दा सरकारले उद्धार नगरेको भन्दै सर्वोच्चमा रिट दायर भएको थियो।

अधिवक्ता मिना खड्का बस्नेत एबम माधव बस्नेत र मनिषकुमार श्रेष्ठको छिट्टछुट्टै रिटको एउटै सुनुएआइ गर्दै न्यायाधीश दीपक कुमार कार्की र मनोज कुमार शर्माको इजलासले यस्तो आदेश गरेको हो।

‘विदेशमा खान-बस्न र स्वास्थ्य उपचारको अभाव झेलिरहेका वा विपतमा परेका नेपाली नागरिकको पहिचान गरी नेपाल फर्कन इच्छुकलाई सम्बन्धित मुलुकसँग कूटनीतिक माध्यमबाट समन्वय गरी नेपाल ल्याउने आवश्यक व्यवस्था गर्नू गराउनू,’ आदेशमा भनिएको छ, ‘उक्त कार्य तत्काल सम्भव नभए उनीहरूलाई जहाँ छन्। त्यहीँ खान-बस्न र उपचारको यथोचित प्रबन्ध गरी नागरिकको हकहितको रक्षा गर्न आवश्यक पहल गर्नू।

सरकारी पक्षसग पनि छलफल गरेपछी अन्तरिम आदेश जारी गरेको हो।

पाँच बुँदे आदेश

१ – विदेशमा खान बस्न र स्वास्थ्य उपचारको अभाव झेलिरहेका वा विपतमा परेका नेपाली नागरिकहरुको पहिचान गरी नेपाल फर्कन चाहने इच्छुक नेपाली नागरिकलाई सम्बन्धित मुलुकसँग कुटनीतिक पहल वा माध्यमबाट समाधान गरी ल्याउन व्यवस्था गर्नुगराउनु, तत्काल सम्भव नभए उनीहरुको उचित खान,स्वास्थ्य र बसाइको व्यवस्था मिलाउन

२ – नेपालीहरु विदेशबाट नेपाल आएको अवस्थामा आएका सम्पुर्ण व्यक्तिहरुको नाम थर वतनसहितको अद्यावधि लगत राखेर मात्र नेपाल प्रवेश गराउने र उनीहरुलाई क्वारेनटाइनमा राख्ने

३ – नेपाल भारतको सिमामा रहेका नेपालीहरुलाई उनीहरुले चाहेमा नेपाल ल्याई निश्चित समय क्वारेनटाइनमा राख्ने र त्यस्तो गर्न तत्काल सम्भव नभए भारत सरकारसँग सम्वन्वय गरी खान,बस्न र उपचारको व्यवस्था गर्ने

४ – क्वारेनटाइनमा रहेका व्यक्तिलाई विश्व स्वास्थ्य संगठनको मापदण्डअनुसार स्वास्थ्य उपचारलगायतको सेवा प्रदान गर्नेगरी व्यवस्थित रुपमा सञ्चालन गर्न

५ – विदेशमा रहेका नेपालीहरुको भिसा समाप्त भएको वा राहदानीको म्याद समाप्त भएको कारणबाट कुनै समस्यामा भए सम्बन्धित देशसँग सम्वन्वय गरी नियमित बसाइ नियमित गर्ने व्यवस्था मिलाउनु

हाम्रो सन्देशमा प्रकाशित कुनैपनि लेख वा सामग्रीबारे गुनासो तथा सुझाव भए [email protected] मा पठाउनु सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर र भाईबरमा पनि जोडिन सक्नुहुन्छ ।