प्रधानमन्त्री ओलीले देशवासीका नाममा ११ बजे सम्बोधन गर्दै

हाम्रो सन्देश संवाददाता

काठमाडाैं,२५ चैत्र ।

प्रधानमन्त्री केपी शर्मा ओलीले देशवासीका नाममा सम्बोधन गर्ने भएका छन् । प्रधानमन्त्री ओलीले विहान ११ बजे सम्बोधन गर्न लागेको प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमालले जानकारी दिए ।

कोरोना रोकथाम तथा नियन्त्रणमा सरकारले गरेका तयारीलाई लिएर प्रधानमन्त्री ओलीले देशवासीका नाममा सम्बोधन गर्ने भएका छन् । प्रधानमन्त्रीले सोमबार बसेको मन्त्रिपरिषद बैठकमा महामारीका रुपमा रहेको कोरोना संक्रमण नियन्त्रण, रोकथाम र उपचारबारे सरकारले अहिलेसम्मका गरेका तयारी र कार्यायोजनाबारे आफूले सम्बोधन गर्न लागेको जानकारी गराएका थिए ।

बैशाख ३ सम्म लकडाउन थप्ने सरकारको निर्णय

सरकारले लकडाउन ८ दिन थप गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको सरकारी निवास बालुवाटारमा भर्खरै सकिएको मन्त्रिपरिषद्को बैठकले बैशाख ३ सम्म लकडाउन लम्ब्याउने निर्णय गरेको हो ।

सरकारले गत चैत ११ गतेदेखि कोरोनाको सङ्क्रमण कम गर्ने उद्देश्य राखेर पहिलो चरणमा लकडाउन गरेको थियो। यस्तै चैत १८ गते पुनःलकडाउनको समय २५ चैतसम्म थप गरेको थियो ।

१० मन्त्रीले पाए थप जिम्मेवारी

सरकारले कोरोना रोकथाम तथा नियन्त्रण समन्वय समितिमा नभएका १० मन्त्रीहरुलाई थप जिम्मेवारी दिएको छ । बैठकले १० मन्त्रीहरुलाई अतिरिक्त जिम्मेवारी दिएको हो ।

भौतिक पूर्वाधार तथा यातायात व्यवस्थामन्त्री बसन्त नेम्वाङलाई प्रदेश नम्बर १, भूमि, व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री पद्मा अर्याललाई गण्डकी प्रदेश र वन तथा वातावरणमन्त्री शक्ति बस्नेतलाई कर्णाली प्रदेश सरकारसँग समन्वय गर्ने जिम्मेवारी दिइएको छ ।

यस्तै उर्जा तथा जलस्रोतमन्त्री वर्षमान पुनलाई प्रदेश नम्बर ५, श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री रामेश्वर राययादवलाई प्रदेश नम्बर २ र खानेपानी तथा सरसफाइमन्त्री बिना मगरलाई सुदूरपश्चिम सरकारसँग समन्वय गर्ने जिम्मेवारी दिइएको छ ।

यस्तै कानून, न्याय तथा संसदीय मामिलामन्त्री शिवमाया तुम्बाहाम्फेलाई संसदमा भएका राजनीतिक दलहरुसँग निरन्तर सम्बाद र समन्वय गर्ने, महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्री पार्वत गुरुङलाई महिला, बालबालिक र जेष्ठ नागरिकहरुको अवस्थाको विषयमा जानकारी लिन र समन्वयगर्ने जिम्मेवारी दिइएको छ ।

यसैगरी युवा तथा खेलकुद मन्त्री जगत विश्वकर्मालाई स्वयम सेवक व्यवस्थापनको जिम्मेवारी दिइएको सरकारका प्रवक्ता एवम् अर्थ–सञ्चार तथा सूचना प्रविधिमन्त्री युवराज खतिवडाले जानकारी दिएका छन् ।

हाम्रो सन्देशमा प्रकाशित कुनैपनि लेख वा सामग्रीबारे गुनासो तथा सुझाव भए [email protected] मा पठाउनु सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर र भाईबरमा पनि जोडिन सक्नुहुन्छ ।